मधेस प्रदेशमा चालु वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर तीन लाख ५० हजार ११८.८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ, जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५ प्रतिशत हो ।
आठ जिल्लामध्ये सिरहामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यहाँ ५४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । सप्तरीमा ९० प्रतिशत, धनुषामा ८५ प्रतिशत, महोत्तरीमा ७४.७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत तथा पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको कृषि विकास निर्देशनालयले जनाएको छ ।