बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकाबाट तस्करीको ‘लाइन’ मिलाइदिने भन्दै नीलकण्ठवा सीमास्थित सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केशव रानाले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा एक व्यक्तिले तस्करीका लागि ‘लाइन’ मिलाइदिने भन्दै असई रानालाई एक लाख रुपैयाँ दिएको दाबी गरेका छन् । उनले उक्त रकम ब्याजमा सापटी लिएर दिएको उल्लेख गर्दै पैसा फिर्ता नगरे रुखमा बाँधेर कुट्ने चेतावनीसमेत दिएको भिडियोमा सुनिन्छ ।
ती व्यक्तिले असई रानालाई नगद रकमसँगै कमिसनस्वरूप कपडासमेत उपलब्ध गराउने गरेको दाबी गरेका छन् । उनका अनुसार मटिअर्वा नाकाको १० नम्बर सीमास्तम्भ आसपासको क्षेत्रमा रातिको समयमा तस्करी हुने गरेको छ ।
स्थानीय स्रोतका अनुसार मटिअर्वा, छतवा, मुसहर्वा, सिम्रौनगढ तथा पचरौतालगायत सीमावर्ती नाकाबाट लामो समयदेखि सुरक्षाकर्मीको मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि भने भएको छैन ।
घटनाबारे सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी दिपेन्द्र थापाले आन्तरिक छानबिन सुरु गरिएको बताएका छन् । उनले रकम लेनदेन भएको वा नभएको विषयमा दुवै पक्षलाई राखेर वास्तविकता पत्ता लगाइने र आरोप पुष्टि भएमा रकम दिने र लिने दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने जानकारी दिए ।
“म आफैँ उक्त विषयमा छानबिन गर्दै छु । असई रानाले पैसा लिएको पुष्टि भएमा कानुनअनुसार कारबाही हुन्छ,” डीएसपी थापाले बताए । यता, आरोपित असई केशव रानाले भने आफूले तस्करीमा संलग्न कुनै व्यक्तिसँग रकम नलिएको दाबी गरेका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा लगाइएका आरोप निराधार र भ्रामक रहेको बताएका छन् ।
हाल घटनाबारे सशस्त्र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेको जनाएको छ भने छानबिनपछि मात्रै आरोपको सत्यता खुल्ने अपेक्षा गरिएको छ ।