वीरगञ्ज महानगरपालिकाले इनर बाइपास सडकखण्डको फुटपाथमा उम्रिएका झारपात तथा फोहोर हटाउन थालेको छ ।
यसअघिका मेयर राजेशमान सिंह निलम्बित भएपछि महानगरकाे प्रमुखकाे जिम्मेवारी पाएका उपमेयर इम्तियाज आलमको निर्देशनमा लामो समयदेखि बेवारिसे अवस्थामा रहेको फुटपाथको सरसफाइ गरिएको हो । वर्षदेखि नियमित सरसफाइ नहुँदा इनर बाइपासको फुटपाथमा झार उम्रिएको र फोहोर थुप्रिएको थियो । जसका कारण पैदल यात्रुका लागि निर्माण गरिएको फुटपाथ प्रयोगविहीन बन्दै गएको थियो ।
महानगरपालिकाले सरसफाइ टोली परिचालन गरी फुटपाथमा जमेको फोहोर हटाउने, झारपात उखेल्ने तथा पैदल यात्राका लागि सहज बनाउने काम सुरु गरेको जनाएको छ । महानगर प्रमुख आलमले नगर क्षेत्रको सरसफाइ र सार्वजनिक पूर्वाधारको संरक्षण महानगरको प्राथमिकतामा रहेको बताउँदै नियमित अनुगमन र सरसफाइलाई निरन्तरता दिएकाे बताएका छन् ।
समाजिक संजालमा स्थानीय संताेष साहले चारवर्षपछि सफाइ हुन लागेकाे भन्दै महानगरले सरसफाइसँगै नियमित मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
स्थानीयवासीले लामो समयदेखि बेवास्तामा परेको फुटपाथ पुनः प्रयोगमा आउने विश्वास लिएका छन् ।