वीरगञ्जको राधेमाईस्थित कुस्ती अखडाको अवस्था दयनीय बन्दै गएको भन्दै खेलाडीहरूले गुनासो गरेका छन् ।
सामान्य वर्षा हुँदा समेत अखडामा प्रशिक्षण गर्न नसकिने अवस्था रहेको उनीहरूको भनाइ रहेकाे छ । खेलाडीहरूका अनुसार पानी परेपछि अखडामा हिलो र पानी जम्ने भएकाले करिब १० देखि १५ दिनसम्म नियमित अभ्यास प्रभावित हुने गरेको छ । लामो समयसम्म प्रशिक्षण रोकिँदा खेलाडीहरूको लय बिग्रिने र प्रतियोगिताका लागि तयारीमा असर पर्ने उनीहरूले बताएका छन् ।
"कतिपय नेता र मन्त्रीहरू अखडा अवलोकन गर्न आउनुभयो, समस्या हेरेर जानुभयो । ‘गर्छौं, गर्छौं’ भन्ने आश्वासन मात्रै पाइयो, तर अहिलेसम्म ठोस काम नभएको" खेलाडीहरूले गुनासो गरेका छन् । कुस्ती खेलाडीहरूले आफूहरू सीमित स्रोतसाधनका बीच भविष्य निर्माणका लागि संघर्ष गरिरहेको बताएका छन् । उनीहरूले आधारभूत सुविधा, व्यवस्थित प्रशिक्षणस्थल र अखडाको उचित व्यवस्थापनको माग गरेका छन् ।
"हामी खेलाडीहरू आफ्नो भविष्य बनाउन संघर्ष गरिरहेका छौं, तर प्रशिक्षणका लागि आवश्यक न्यूनतम सुविधा समेत छैन । खेलाडीको भविष्यसँग खेलबाड नगरौं, अखडाको व्यवस्थापनमा तत्काल ध्यान दिइयोस्," उनीहरूले आग्रह गरेकाे छ । स्थानीय खेलाडीहरूले राधेमाई कुस्ती अखडालाई व्यवस्थित बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने माग गरेका छन् ।
नियमित प्रशिक्षणको वातावरण बनाउन सके कुस्ती खेलमा स्थानीय प्रतिभाले अवसर पाउने उनीहरूको विश्वास छ ।