पछिल्ला दुई महिनामा प्रदर्शनमा आएका तीन चर्चित हलिउड फिल्मले नेपालमा उत्साहजनक व्यापार गर्दै हलिउडप्रतिको दर्शक आकर्षण अझ स्पष्ट पारेका छन् ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार 'स्पाइडर–म्यान: ब्रान्ड न्यू डे', 'द ओडिसी' र 'अब्सेसन' ले संयुक्त रूपमा नेपालमा १२ करोड ४३ लाख रुपैयाँभन्दा बढी कमाइ गरेका छन् ।
नेपालमा हलिउड फिल्मको बजार परम्परागत रूपमा नेपाली, बलिउड र दक्षिण भारतीय फिल्मको तुलनामा सानो मानिए पनि पछिल्ला यी तीन फिल्मले पुराना व्यापारिक रेकर्ड तोड्दै नयाँ उत्साह सिर्जना गरेका हुन् । यी फिल्मको आम्दानीको अधिकांश हिस्सा काठमाडौं उपत्यकाका मल्टिप्लेक्स हलबाट आएको छ ।
सबैभन्दा बढी कमाइ 'स्पाइडर–म्यान: ब्रान्ड न्यू डे' ले गरेको छ । गत बिहीबारदेखि प्रदर्शनमा आएको यो एक्सन–एड्भेन्चर फिल्मले आइतबारसम्म नेपालमा ८ करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको छ। काठमाडौंका मल्टिप्लेक्स हलहरूमा फिल्मका अधिकांश शो हाउसफुल भइरहेका छन् । डेस्टिन ड्यानियल क्रेटन निर्देशित यस फिल्ममा टम हल्यान्ड, जेन्डाया, सेडी सिन्क र जेकब ब्याटलन मुख्य भूमिकामा छन् । विश्वव्यापी रूपमा पनि फिल्मले पहिलो दिनमै १६ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गरेको थियो ।
साउन १ गते प्रदर्शनमा आएको क्रिस्टोफर नोलन निर्देशित 'द ओडिसी' ले पनि नेपाली दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । हालसम्म नेपालमा यसले ३ करोड १४ लाख रुपैयाँ कमाइसकेको छ भने विश्वभर यसको आम्दानी करिब ७३ करोड अमेरिकी डलर पुगेको छ । प्राचीन ग्रीक महाकाव्यमा आधारित यस फिल्ममा म्याट डेमन, टम हल्यान्ड, जेन्डाया, एनी हेथवे र रोबर्ट प्याटिन्सनको अभिनय रहेको छ ।
यस्तै, जेठ महिनामा नेपालमा प्रदर्शनमा आएको साइकोलोजिकल सुपरनेचुरल हरर फिल्म 'अब्सेसन' ले १ करोड २९ लाख रुपैयाँ कमाएको छ । अमेरिकी युवा निर्देशक करी बार्करले निर्देशन गरेको यो फिल्म १० लाख अमेरिकी डलरभन्दा कम बजेटमा निर्माण भए पनि विश्वभर करिब ४५ करोड अमेरिकी डलर कमाउन सफल भएको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सकी महाप्रबन्धक तृप्ति गिरीका अनुसार लामो समयदेखि प्रतीक्षा गरिएका, ठूलो स्टारकास्ट भएका तथा अन्तर्राष्ट्रिय बजारमा चर्चित बनेका हलिउड फिल्मले नेपालमा पनि राम्रो व्यापार गर्ने गरेका छन् ।
उनले 'स्पाइडर–म्यान: ब्रान्ड न्यू डे' ले क्यूएफएक्सको इतिहासमै एकै दिनमा सबैभन्दा धेरै दर्शक र आम्दानीको नयाँ रेकर्ड बनाएको जानकारी दिइन् । उनका अनुसार 'द ओडिसी' ले काठमाडौं बाहिर पनि राम्रो व्यापार गरेको छ भने 'अब्सेसन' ले सीमित क्षेत्रमा मात्र राम्रो प्रदर्शन गरेको थियो ।
यसबीच नेपाली फिल्महरूले पनि बक्स अफिसमा उल्लेखनीय प्रदर्शन गरिरहेका छन् । चलचित्र विकास बोर्डका अनुसार वैशाख २५ गते प्रदर्शनमा आएको 'लालीबजार' ले ९ करोड ३२ लाख रुपैयाँ कमाइसकेको छ भने साउन १ गतेदेखि प्रदर्शनमा रहेको 'गौंथली' ले हालसम्म १३ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै सफल प्रदर्शनलाई निरन्तरता दिएको छ ।