गएराति परेको वर्षापछि वीरगंज महानगरपालिकाका विभिन्न वडा पुनः डुबानमा परेका छन् ।
वर्षासँगै आदर्शनगर, रामटोल, श्रीपुर, मुर्ली, पानीटङ्की लगायतका क्षेत्र जलमग्न हुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ । डुबानका कारण कतिपय घरभित्र पानी पसेर धनमालमा क्षति पुगेको छ भने केही स्थानमा स्थानीयबीच विवादसमेत उत्पन्न भएको छ। वीरगंजका यी क्षेत्रहरू हरेक वर्ष वर्षायाममा डुबानको समस्याबाट प्रभावित हुँदै आएका छन् । तर यस वर्ष मुख्य सडक विस्तारको कामका कारण समस्या झन् जटिल बनेको स्थानीयको गुनासो छ ।
हाल गण्डकदेखि मितेरी पुलसम्म करिब सात किलोमिटर सडकखण्डमा सडकको दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने कार्य भइरहेको छ । विस्तारका क्रममा सडक किनारका नाला तथा फुटपाथ भग्नावशेषले थुनिएका छन् भने कतिपय स्थानमा नाला पूर्णरूपमा पुरिएका कारण वर्षाको पानी सहज रूपमा निकास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर स्वरूप मुख्य सडकसँगै त्यससँग जोडिएका सहायक सडक र बस्तीहरू पनि डुबानमा परेका छन् । गएरातिको वर्षापछि सडक तथा बस्तीमा पानी जम्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । घरभित्र पानी पसेपछि फर्निचर, खाद्यान्न, विद्युतीय सामग्रीलगायतका सामानमा क्षति पुगेको स्थानीयले बताएका छन्। कतिपय परिवारले रातभर जाग्राम बसेर घरबाट पानी निकाल्नुपर्ने अवस्था आएको थियो ।
डुबानका कारण केही स्थानमा पानी निकास, नाला व्यवस्थापन तथा सडक विस्तार कार्यलाई लिएर स्थानीयबीच विवादसमेत भएको जनाइएको छ । पर्याप्त पानी निकासको व्यवस्था नगरी सडक विस्तारको काम अघि बढाइएको तथा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा बर्सेनि समस्या दोहोरिएको स्थानीयको आरोप छ । स्थानीय बासिन्दाले वर्षायामलाई मध्यनजर गर्दै विस्तारित सडक क्षेत्रमा तत्काल प्रभावकारी पानी निकासको व्यवस्था गर्न, पुरिएका नाला खुलाउन तथा डुबान प्रभावित क्षेत्रमा राहत र आवश्यक सहयोग उपलब्ध गराउन वीरगंज महानगरपालिका तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।
सरोकारवालाहरूका अनुसार वीरगंजमा हरेक वर्ष दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी ढल तथा नाला व्यवस्थापन, निर्माण कार्यको गुणस्तरीय अनुगमन र वर्षाको पानी सहज रूपमा बग्ने प्रणालीको विकास अपरिहार्य छ ।
समयमै आवश्यक व्यवस्थापन हुन नसके आगामी दिनमा थप वर्षासँगै डुबानको समस्या अझ गम्भीर बन्न सक्ने स्थानीयको चिन्ता छ ।