संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने तथा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको विषयमा छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुने भएको छ । सांसद आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने मागसहित प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा भूमिहीन तथा सुकुमवासीलाई सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्ने, उचित क्षतिपूर्ति तथा स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउनुपर्ने उल्लेख छ ।
त्यस्तै, वास्तविक भूमिहीन र सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ । उक्त सार्वजनिक महत्वको प्रस्तावका समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन् ।