राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेशमा हुने विभिन्न आन्दोलन तथा विरोध प्रदर्शनका क्रममा सुरक्षा निकायले सानातिना घटनामै सिधै गोली चलाउने गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मधेश वा थरुहट आन्दोलनसहित तराईका विभिन्न आन्दोलनका क्रममा भीड नियन्त्रणका लागि अपनाइने सामान्य सुरक्षा उपायभन्दा अघि नै गोली चलाउने प्रवृत्तिप्रति आपत्ति जनाएका हुन् ।
उनले सुरक्षाकर्मीलाई लाठीचार्ज र अश्रुग्याँस प्रयोग गर्ने पर्याप्त तालिमको अभाव हो वा मधेशमा सुरक्षा निकाय पुग्नेबित्तिकै गोली चलाउने मानसिकता विकास भएको हो भन्दै सरकारसँग जवाफ माग गरे । “मधेशमा कुनै घटना हुनासाथ किन सिधै गोली चलाइन्छ ? लाठीचार्ज र अश्रुग्याँस प्रयोग गरेर स्थिति नियन्त्रणमा लिन सकिँदैन ?” भन्दै उनले प्रश्न गरे ।
सांसद सिंहले राज्यको बजेट र प्राथमिकतामाथि पनि प्रश्न उठाए । सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना तथा परिचालनका लागि पर्याप्त स्रोत व्यवस्थापन गर्न सक्ने तर मधेशमा आवश्यक शिक्षक नियुक्तिका लागि भने बजेट अभाव देखाउने गरेको उनको आरोप थियो ।
“सरकार मधेशमा हजारौँको संख्यामा प्रहरी, सशस्त्र र सेना परिचालन गर्न सक्छ, तर हजारौँ शिक्षक परिचालन गर्न सक्दैन ? जनतालाई शिक्षित बनाउन राज्यको प्राथमिकता किन हुँदैन ?” उनले भने ।
उनले मधेशलाई निरन्तर पछाडि पार्ने, गरिबी र असमानता बढाउने तथा असन्तोष व्यक्त गर्दा बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । तराई–मधेशमा सुरक्षा व्यवस्थापन गर्दा गोलीभन्दा पहिले लाठीचार्ज र अश्रुग्याँसजस्ता वैकल्पिक उपाय प्रयोग गर्नुपर्ने उनको माग थियो । सांसद सिंहले देशको मुख्य समस्या समुदायबीचको द्वन्द्व नभई गरिबी, पछौटोपन र असमानता रहेको बताए । उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरे ।
सुनसरीको घटनालाई उल्लेख गर्दै उनले समस्या समाधानका लागि सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए । साथै, ढिलै भए पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर सकारात्मक पहल गरेको उल्लेख गर्दै उनले सबै पक्षलाई सद्भाव र संयमताका साथ अघि बढ्न आग्रह गरे ।