परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित अघि बढिरहेको बताएका छन् । उनले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापारलाई महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता तथा लाभ विस्तार गर्न आवश्यक रहेको बताए ।
“अन्तर्राष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ,” उनले भने । मन्त्री खनालले वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती र सीमिततालाई ध्यानमा राख्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने बताए ।
नेपालले कम विकसित मुलुकका रूपमा विभिन्न देशबाट शून्य भन्सार दरको सुविधा पाए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै उनले विगतमा गुमेका अवसरहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । “हामी लामो समयदेखि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ । अब त्यसबाट बाहिर निस्केर कुन–कुन क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्ने बाटो पहिचान गर्नुपर्छ,” मन्त्री खनालले भने ।
उनले सबै क्षेत्रमा एकैपटक काम गर्न खोज्दा सीमित स्रोतसाधन प्रभावकारी रूपमा परिचालन हुन नसक्ने बताए । विदेशस्थित नेपाली नियोगहरूले पनि आफ्नो प्राथमिकता स्पष्ट गरी आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । परराष्ट्रमन्त्री खनालले अहिलेको विश्व परिवेशमा राजनीतिक शक्ति आर्थिक शक्तिसँग जोडिँदै गएको उल्लेख गर्दै त्यसअनुसार नीति तथा योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताए ।
कार्यक्रममा एसोसिएसन अफ फर्मर करिअर एम्बास्डर्स अफ नेपाल (अफकान) का अध्यक्ष तथा पूर्वराजदूत भगिरथ बस्नेतसहित संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले अन्तर्राष्ट्रिय सहायता र पूर्वराजदूत दीपक धितालले व्यापारसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
परराष्ट्रमन्त्री खनालले दुवै प्रस्तोताले प्रस्तुत गरेका कार्यपत्र महत्वपूर्ण र ज्ञानवर्धक रहेको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले पनि प्रस्तुत कार्यपत्रहरू उपयोगी र महत्वपूर्ण रहेको बताए ।