राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा-३ का सांसद अरविन्द साहले धार्मिक, जातीय वा कुनै पनि प्रकारको द्वन्द्व देश, समाज र भावी पुस्ताका लागि कहिल्यै हितकर नहुने बताएका छन् ।
उनले सामाजिक सद्भाव बिथोल्ने गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साहले पछिल्लो घटनाक्रमका क्रममा केही व्यक्तिले पुराना भिडियो तथा सामग्रीलाई वर्तमान घटनासँग जोडेर सामाजिक सञ्जालमा फैलाउने, भ्रामक समाचार प्रसारण गर्ने तथा भड्काऊ अभिव्यक्ति दिने जस्ता गैरजिम्मेवार गतिविधि गरेको उल्लेख गरेका छन् । उनले व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि देशलाई द्वन्द्वतर्फ धकेल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
सांसद साहले भविष्यमा यस्ता घटना दोहोरिन नदिन दण्डहीनताको अन्त्य गर्दै सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । उनले पछिल्लो तनावपूर्ण अवस्थालाई शान्त बनाउन सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेतृत्व, धार्मिक गुरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकाय तथा जिम्मेवार नागरिकप्रति आभार व्यक्त गरेका छन् ।
साथै, समस्या समाधानका लागि संसद् बैठक स्थगित गरी जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा पुगेर जनतासँग संवाद गर्न प्रेरित गरेको भन्दै सभामुखप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन् ।
सांसद साहले घटनाको गहिरो अध्ययन गरी वास्तविक कारण पहिचान, दोषीमाथि कानुनी कारबाही तथा दीर्घकालीन सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी उपाय तत्काल कार्यान्वयन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।