बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित २५ वटा स्वास्थ्य संस्थाबाट एक आर्थिक वर्षमा १ लाख ७५ हजार ४ सय ३५ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
स्थानीय तहबाट स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नगर स्वास्थ्य अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा अन्य स्वास्थ्य संस्थामार्फत उक्त सङ्ख्यामा नागरिकले विभिन्न स्वास्थ्य सेवा लिएका हुन् ।
उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट ओपीडी सेवा, नियमित खोप कार्यक्रम, सुरक्षित मातृत्व सेवा, बाल स्वास्थ्य सेवा, परिवार नियोजन, नसर्ने रोगको परीक्षण तथा उपचार, प्रयोगशाला सेवा र निःशुल्क औषधि वितरणलगायतका सेवाहरू नियमित रूपमा प्रदान हुँदै आएका छन् ।
स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति, स्वास्थ्य पूर्वाधार विस्तार तथा सेवा प्रवाहमा सुधार गर्दै लगिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले सबै नगरवासीलाई सहज, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
नागरिकको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय बनाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा २४ वटा वडा रहेका छन् ।