वीरगंज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित र लथालिङ्ग अवस्थामा छाडिएका इन्टरनेटका तारका कारण सहरी सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले तार व्यवस्थापनलाई व्यवस्थित बनाउन पहल थालेको छ ।
नगरको तीव्र शहरीकरण, सडक तथा पूर्वाधार मर्मतका क्रममा उत्पन्न हुने समस्या, मलबा व्यवस्थापनमा देखिएको कठिनाइ तथा विशेषगरी गर्मीयाममा आगलागीको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको चासो र निर्देशनअनुसार महानगरपालिकाले अव्यवस्थित तारको व्यवस्थापन, नियमित मर्मत तथा सहरी सौन्दर्यीकरणलाई प्रभावकारी बनाउन आवश्यक समन्वय प्रक्रिया अघि बढाएको जनाएको छ ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराद्वारा जारी सूचनाअनुसार महानगर क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सबै इन्टरनेट सेवा प्रदायक कम्पनीका आधिकारिक प्रतिनिधिलाई साउन २२ गते बिहान ११:०० बजे महानगरपालिकाको बैठक हलमा आयोजना हुने छलफलमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।
महानगरपालिकाले तोकिएको बैठकमा अनुपस्थित हुने कम्पनीलाई असहयोगी मानिने जनाएको छ । साथै, अनुपस्थितिका कारण उत्पन्न हुने कुनै पनि परिस्थिति वा परिणामको जिम्मेवारी सम्बन्धित कम्पनी स्वयंले वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ ।
महानगरपालिकाले इन्टरनेटका अव्यवस्थित तारको व्यवस्थापनमार्फत सहरी सौन्दर्य कायम गर्नुका साथै दुर्घटना तथा आगलागीको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको जनाएको छ ।