सुक्खायाममा वन्यजन्तुलाई खानेपानीको अभाव हुन नदिन पर्सा राष्ट्रिय निकुञ्जमा यस वर्ष थप दुईवटा आरसीसी पोखरी निर्माण गरिने भएको छ ।
निकुञ्जको पूर्वी क्षेत्र र हालको कालीदह क्षेत्रमा पोखरी निर्माण गर्ने तयारी भइरहेको निकुञ्ज आधाभार कार्यालयका संरक्षण तथा सूचना अधिकृत मनोज मण्डलले जानकारी दिएका छन् ।
उनका अनुसार निकुञ्जका विभिन्न क्षेत्रमा हालसम्म ४० वटा आरसीसी पोखरी निर्माण भइसकेका छन् । प्राकृतिक पानीका स्रोत सीमित हुनुका साथै सुक्खायाममा खोला तथा खहरे सुक्ने भएकाले वन्यजन्तुलाई पिउने पानीको समस्या हुने गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माणलाई प्राथमिकता दिँदै आएको छ ।
सुक्खायाममा निकुञ्ज प्रशासनले ट्यांकरमार्फत पोखरीमा नियमित रूपमा पानी भर्ने गरेको छ । सामान्यतया दुई मिटर लम्बाइ र दुई मिटर चौडाइका यस्ता पोखरीमा पानी जम्मा गरेर वन्यजन्तुको प्यास मेटाउने व्यवस्था गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा काली, कामिनी, लौकी, हल्खोरिया र मिनी हल्खोरिया गरी पाँचवटा मात्र प्राकृतिक दह रहेका छन् । निकुञ्जभित्रका अधिकांश खोला तथा खहरे वर्षायाममा मात्र पानीले भरिने भएकाले हिउँद र गर्मीयाममा सुक्ने गर्छन् । यसले गर्दा वन्यजन्तुलाई पानीको संकट हुने गरेको छ ।
प्राकृतिक जलस्रोतको सीमितताका कारण कृत्रिम पोखरी वन्यजन्तुका लागि पानीको वैकल्पिक स्रोत बनेका छन् । थप दुईवटा पोखरी निर्माण भएपछि निकुञ्जका विभिन्न क्षेत्रमा वन्यजन्तुको खानेपानीमा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
यसैगरी, चालु वर्ष प्रयोगमा रहेका तर जीर्ण अवस्थामा पुगेका दुईवटा आरसीसी पोखरीको मर्मतसम्भार गर्ने योजना पनि रहेको संरक्षण तथा सूचना अधिकृत मण्डलले जानकारी दिएका छन् ।