बाराको आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरीको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब १०:४० बजे गाउँमा विद्युत् सेवा सञ्चालन गर्ने उद्देश्यले बिजुलीको पोलमा हुक लगाउने क्रममा उनी दुर्घटनामा परेका हुन् । हुकमा जोडिएको एउटा तार विद्युत् लाइनमा अल्झिएपछि अर्को तार उनको शरीरमा खस्दा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै स्थानीयवासी र परिवारका सदस्यले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए । तर अस्पतालमा चिकित्सकले ईसीजी परीक्षणपछि उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मृतकको शव पोस्टमार्टम तथा कानुनी प्रक्रिया पूरा गर्न प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।