वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभित्र अव्यवस्थित रूपमा जेलिएका इन्टरनेटका तार व्यवस्थापन गर्न सक्रियता बढाएको छ ।
लामो समयदेखि सहरको सौन्दर्य बिगार्नुका साथै आगलागी र दुर्घटनाको जोखिम बढाउँदै आएका तारहरू व्यवस्थित गर्न महानगरले आवश्यक पहल थालेको हो । यसैक्रममा इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूसँग सम्भावित आगलागी तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने विषयमा प्रारम्भिक छलफल सम्पन्न भएको छ।
वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराको उपस्थितिमा भएको बैठकमा अव्यवस्थित तार व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको महानगरपालिकाले जनाएको छ । बैठकमा थप निष्कर्ष र कार्ययोजना तय गर्न आगामी सोमबार पुनः बृहत् छलफल गर्ने निर्णय गरिएको छ ।
कार्यवाहक प्रमुख इम्तियाज आलमले अव्यवस्थित तारका कारण सहरको सौन्दर्यमा असर पर्नुका साथै आगलागी र सवारी दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै नागरिकको सुरक्षा र सहरको सौन्दर्यमा कुनै सम्झौता नगर्ने बताए । उनले अव्यवस्थित तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइएको र सेवा प्रदायकसँगको सहकार्यमा दीर्घकालीन समाधान खोजिने स्पष्ट पारे ।
महानगरपालिकाले सोमबार बस्ने बृहत् बैठकपछि सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरी प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने र व्यवस्थित गर्ने कार्यलाई तीव्रता दिइने जनाएको छ ।