जिल्ला अदालत पर्साको फैसला कार्यान्वयन अभियानअन्तर्गत विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा उपस्थित गराएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी हुन् भने पाँच जना जालसाजी मुद्दाका प्रतिवादी रहेका छन् ।
अदालतले अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीलाई एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । त्यस्तै, जालसाजी मुद्दाका पाँच जना प्रतिवादीबाट प्रत्येकी २५० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिँदै फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।
प्रहरीले अदालतबाट भएका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्ता अभियानलाई निरन्तर अघि बढाइने जनाएको छ ।