नेपाल सरकारले सरकारी कार्यालय सञ्चालनको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरे पनि पर्साका अधिकांश सरकारी कार्यालयमा तोकिएको समय प्रभावकारी रूपमा पालना नभएको गुनासो बढेको छ ।
कर्मचारीहरू ढिलो कार्यालय आउने र कार्यालय समय सकिनुअघि नै फर्किने गरेको सेवाग्राहीको आरोप छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेपछि बाँकी पाँच कार्यदिनमा नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरेको हो । तर पर्साका विभिन्न सरकारी कार्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू निर्धारित समयभन्दा ढिलो कार्यालय पुग्ने गरेको सेवाग्राहीको गुनासो छ ।
स्थानीयका अनुसार कालिकामाई र धोबिनी गाउँपालिकालगायत जिल्लाका विभिन्न स्थानीय तहमा कार्यालय सहयोगीले समयमै कार्यालय खोले पनि सम्बन्धित प्रमुख तथा कर्मचारीहरू ढिलो उपस्थित हुँदा सेवा प्रवाह प्रभावित हुने गरेको छ। बिहानै सेवा लिन पुगेका नागरिकहरू कर्मचारीको प्रतीक्षामा घण्टौँ बस्न बाध्य हुने गरेको उनीहरूको भनाइ छ ।
एक सेवाग्राहीले सरकारले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुने व्यवस्था गरेकाले आफूहरू समयमै कार्यालय पुग्ने गरेको तर कर्मचारी ढिलो आउँदा लामो समय कुर्नुपरेको बताए। उनका अनुसार यसले सेवाग्राहीको समय र अन्य कामसमेत प्रभावित हुने गरेको छ ।
त्यस्तै, कतिपय कार्यालयमा कर्मचारीहरू साँझ ५ बजेसम्म कार्यालयमा उपस्थित हुनुपर्ने भए पनि अपराह्न ४ बजेदेखि नै कार्यालय छाड्ने गरेको गुनासोसमेत छ। यसका कारण टाढाबाट सेवा लिन आएका नागरिकहरू निर्धारित समयअघि नै सेवा बन्द हुँदा काम पूरा नगरी फर्किनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।
सेवाग्राहीहरूले सरकारी कार्यालयको समय कडाइका साथ कार्यान्वयन गर्न, कर्मचारीको नियमित अनुगमन गर्न तथा ढिलासुस्ती वा अनुपस्थित हुने कर्मचारीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
सरोकारवालाहरूले सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि कर्मचारीले तोकिएको कार्यालय समय पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका छन्। सरकारी कार्यालय नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा केन्द्र भएकाले कर्मचारी समयमै उपस्थित भएर छिटो, सहज र गुणस्तरीय सेवा दिनुपर्ने उनीहरूको धारणा छ ।
स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायले सरकारी कार्यालयमा नियमित अनुगमन गरी कार्यालय समयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । निर्धारित समयमा सेवा प्रवाह हुन सके सरकारी सेवाप्रतिको नागरिकको विश्वास बढ्नुका साथै सार्वजनिक प्रशासन थप उत्तरदायी र सेवामुखी बन्ने उनीहरूको अपेक्षा छ ।