सरकारी कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी गुनासा, सुझाव तथा प्रतिक्रिया संकलन गर्न राखिएका गुनासोपेटिका बाराका अधिकांश सरकारी कार्यालयमा प्रयोगविहीन बन्दै गएका छन् । सेवाग्राहीले गुनासोपेटिकामार्फत उजुरी दिन छाडेपछि ती केवल औपचारिकतामा सीमित हुन थालेका छन् ।
सरकारी कार्यालयको मुख्य प्रवेशद्वार वा सेवाग्राहीको सहज पहुँच हुने स्थानमा राखिएका गुनासोपेटिकामा लामो समयदेखि गुनासा तथा सुझाव नपरेको सम्बन्धित कार्यालयका अधिकारीहरू बताउँछन् । बारा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय बारामा राखिएका गुनासोपेटिकाको अवस्थाले पनि यसको पुष्टि गर्छ ।
बारा जिल्ला अदालतका स्रेस्तेदार राजकुमार दाहालका अनुसार अदालतमा राखिएको गुनासोपेटिकामा लामो समयदेखि सेवाग्राहीका कुनै चिठी, सुझाव वा गुनासा प्राप्त भएका छैनन् । अदालतमा गुनासोपेटिका राखिएको भए पनि त्यसको प्रयोग नगण्य रहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य सरकारी कार्यालयमा राखिएका कतिपय गुनासोपेटिका पुराना तथा जीर्ण अवस्थामा रहेको पनि देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी छविरमण भट्टराईले सुशासन प्रवर्द्धनका लागि मन्त्रालय, विभाग तथा सरकारी कार्यालयहरूमा सबैले देख्ने स्थानमा गुनासोपेटिका राख्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा यसको प्रभावकारी प्रयोग हुन नसकेको बताउनुभयो ।
उहाँका अनुसार गुनासोपेटिकामा प्राप्त हुने उजुरी वा सुझाव मनासिब देखिएमा त्यसको सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाई त्यसबारे सार्वजनिक जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । तर व्यवहारमा यस्तो अभ्यास प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।
नागरिक समाज बारा अध्यक्ष उमेशलाल दासले गुनासोपेटिका राख्नु मात्रै पर्याप्त नभई त्यसको नियमित अनुगमन, गुनासोको सुनुवाइ तथा समाधानबारे सार्वजनिक जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । “गुनासोपेटिका राखेर मात्रै नागरिकको गुनासो सुन्ने व्यवस्था पूरा हुँदैन,” उहाँले भन्नुभयो, “पेटिका कहिले खोलियो, कस्ता गुनासा आए, तिनको समाधान कसरी गरियो भन्ने विषयमा पारदर्शिता र नियमित जानकारी आवश्यक छ ।”
विगतमा सेवाग्राहीले कर्मचारीको व्यवहार, सेवा प्रवाहमा हुने ढिलाइ, अनावश्यक झन्झट, बिचौलियाको चलखेल, सूचना प्राप्तिमा समस्या तथा कार्यालयको कार्यसम्पादनबारे गुनासोपेटिकामार्फत उजुरी दिने गरेका थिए । तर गुनासोको सुनुवाइ हुन्छ भन्ने विश्वास कमजोर बन्दै गएपछि यस्तो अभ्यास क्रमशः घट्दै गएको सरोकारवालाहरूको भनाइ छ ।
पछिल्लो समय सेवाग्राहीले सामाजिक सञ्जाल, टेलिफोन, मोबाइल तथा अनलाइन प्रणालीमार्फत प्रत्यक्ष गुनासो राख्न थालेका कारण पनि गुनासोपेटिकाको प्रयोग घटेको बताइएको छ ।
जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दीपककुमार पटेलका अनुसार सेवाग्राहीले अहिले कार्यालय प्रमुख वा सम्बन्धित शाखासमक्ष प्रत्यक्ष रूपमा समस्या राख्ने गरेका छन् । साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको अनलाइन गुनासो प्रणालीका कारण घरबाटै गुनासो तथा सुझाव दर्ता गर्न सकिने सुविधा उपलब्ध भएपछि गुनासोपेटिकाको प्रयोग उल्लेखनीय रूपमा घटेको उहाँले बताउनुभयो ।