राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा राखेपछि नेपालको शासनसत्ताको केन्द्रका रूपमा रहेको सिंहदरबारको इतिहास फेरि चर्चामा आएको छ ।
सिंहदरबार कुनै सामान्य सरकारी भवन नभई राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा निर्माण गराएको १२२ वर्ष पुरानो ऐतिहासिक दरबार हो । चन्द्रशमशेरले विसं १९६० मा निर्माण सुरु गरेको सिंहदरबार करिब ११ महिनामै तयार भएको थियो ।
करिब ३५० रोपनी जग्गामा निर्माण गरिएको सिंहदरबारको नक्सा नेपाली इन्जिनियर कर्णेल कुमार नरसिंह र भारतीय इन्जिनियर जोगेन्द्रबाबुले तयार गरेका थिए । निर्माणमा नेपाली सैनिक तथा कैदीहरूलाई समेत प्रयोग गरिएको थियो । चन्द्रशमशेरले व्यक्तिगत रूपमा करिब २५ लाख रुपैयाँ खर्च गरेको इतिहासमा उल्लेख छ ।
सिंहदरबारमा करिब १ हजार ७ सय कोठा र विभिन्न चोकहरू थिए । यसको वास्तुकलामा नियोक्लासिकल शैलीको प्रभाव देखिन्थ्यो । बाहिरी संरचनामा पश्चिमी शैली झल्किए पनि निर्माणमा आधुनिक सिमेन्ट प्रयोग नगरिएको बताइन्छ । बज्र, चाकु र मासको दाललगायत सामग्री प्रयोग गरी गारो बनाइएको थियो ।
सिंहदरबार नाम रहनुको कथा
सिंहदरबारको नाम कसरी रह्यो भन्ने विषयमा विभिन्न भनाइ पाइन्छन् । इतिहासकार पुरुषोत्तमशमशेर जबराको विवरणअनुसार, चन्द्रशमशेर एक दिन आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीसँग दरबारको कौसीमा पुगेका थिए । त्यहाँबाट बाघदरबार देखाउँदै उनले ‘ऊ बाघदरबार’ भनेपछि बालकुमारी देवीले ‘त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ?’ भन्ने प्रस्ताव गरेकी थिइन् । सोही प्रस्तावअनुसार दरबारको नाम सिंहदरबार राखिएको भनाइ छ ।
अर्को मतअनुसार राणाकालीन प्रधानमन्त्रीहरूको शक्ति र स्वभावलाई सिंहसँग तुलना गरिन्थ्यो । दरबारको अगाडिको छानामा रहेको सिंहको प्रतीकसँग जोडेर यसलाई सिंहदरबार भन्न थालिएको इतिहासकारहरूको भनाइ छ ।
राणा निवासदेखि सरकारी सचिवालयसम्म
चन्द्रशमशेरले सिंहदरबार आफ्नो ठूलो परिवार र छोराहरूका लागि निर्माण गराएका थिए । तर पछि छोराहरूले छुट्टाछुट्टै दरबार बनाउने इच्छा देखाएपछि उनले सिंहदरबार राष्ट्रलाई बिक्री गरी प्रधानमन्त्री निवासका रूपमा प्रयोग गर्ने निर्णय गरेका थिए ।
त्यसपछि सिंहदरबार राणा प्रधानमन्त्रीहरूको निवास र शासन सञ्चालनको मुख्य केन्द्र बन्यो । २००७ सालको राजनीतिक परिवर्तनपछि सिंहदरबार श्री ५ को सरकारको स्वामित्वमा आयो र सरकारी सचिवालय तथा प्रशासन सञ्चालनको केन्द्रका रूपमा विकास भयो ।
हाल सिंहदरबार नेपालको राज्यसत्ता र शासन सञ्चालनको प्रमुख प्रतीकका रूपमा परिचित छ ।
पटक–पटक आगलागीको इतिहास
सिंहदरबारले विगतमा पनि आगलागीको सामना गरेको छ । २०३० साल असार २५ गते विद्युत् सर्ट भएर भएको आगलागीले सिंहदरबारका बुर्जा, कौसी र छानामा ठूलो क्षति पुर्याएको थियो । त्यस क्रममा महत्वपूर्ण कागजातसमेत नष्ट भएका थिए ।
पछिल्लो समय भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारको मूल भवनमा आगलागी भएको थियो ।
ऐतिहासिक, राजनीतिक र प्रशासनिक महत्व बोकेको सिंहदरबारको नाम परिवर्तन गर्ने सांसद ढकालको प्रस्तावपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया देखिएका छन् ।