भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखिकी कप्तान हरमनप्रीत कौरले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छन् । यद्यपी, उनले राष्ट्रिय टोलीबाट खेल्न भने जारी राख्नेछिन् ।
हरमनप्रीतको निर्णय भारतले एसियन गेम्समा महिला क्रिकेटतर्फ लगातार दोस्रो स्वर्ण जितेको केही दिनपछि आएको हो । उनको नेतृत्वमा भारतले गत नोभेम्बरमा पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि पनि जितेको थियो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को गुवाहाटीमा बसेको समीक्षा बैठकपछि हरमनप्रीतले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेकी हुन् । बीसीसीआईका सचिव देवजीत सकियाको अध्यक्षतामा बसेको बैठकमा मुख्य प्रशिक्षक अमोल मजुमदार र उपकप्तान स्मृति मन्धाना पनि सहभागी थिए ।
३७ वर्षीया हरमनप्रीतले सन् २०१६ देखि भारतीय टी–२० टोलीको कप्तानी सम्हाल्दै आएकी थिइन् । उनले सन् २०२२ मा एकदिवसीय टोलीको कप्तानी सम्हालेकी थिइन् भने २०२३ मा तीनवटै प्रारूपको कप्तान बनेकी थिइन् ।
कप्तानी छाड्ने घोषणा गर्दै हरमनप्रीतले यो निर्णय सहज नभएको बताएकी छन् । उनले कप्तानीसँग जोडिएका वर्षौंका सम्झना, भावना, त्याग र महत्वपूर्ण क्षणहरू जीवनभर आफूसँग रहने बताइन् ।
अब म फेरि खेलप्रतिको प्रेमका लागि खेल्न तयार छु । कप्तानीको अन्त्य भएको छ, यात्रा भने जारी छ” उनले भनेकी छन् ।
हरमनप्रीतले आफू भावनाले भरिएको अवस्थामा भए पनि शान्त मनले कप्तानी छाडेको बताउँदै भारतीय टोली अहिले राम्रो अवस्थामा रहेकोमा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् ।