दक्षिण कोरिया पठाइदिने भन्दै रकम लिएर लामो समयसम्म अलपत्र पारेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीसम्बन्धी उजुरीमाथि अनुसन्धान गर्ने क्रममा पाण्डेलाई पक्राउ गरेको हो। कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार नुवाकोट घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका पाण्डेलाई मंगलबार रानीबारी चोकबाट नियन्त्रणमा लिइएको हो ।
कन्सल्टेन्सीले आफ्नो छोरालाई दक्षिण कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले पाण्डेविरुद्ध कारबाहीको माग गरेकी थिइन् ।
ती महिलाले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल टिकटकमार्फत आफ्नो समस्या सार्वजनिक गरेपछि घटना बाहिर आएको थियो। उनले छोरालाई विदेश पठाउने आश्वासन दिएर लामो समयसम्म अल्झाइएको भन्दै सम्बन्धित निकायसँग न्याय र कारबाहीको माग गरेकी थिइन् ।
प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको विषयमा समेत अनुसन्धान अघि बढाउँदै पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले घटनामा आर्थिक कारोबार, कन्सल्टेन्सीबाट दिइएको आश्वासन तथा पीडितसँग भएको लेनदेनलगायत विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।