पोखराको फेवाताल किनारस्थित कोमागाने पार्क क्षेत्रमा बुधबार बिहान एक्कासि आगलागी भएको दृश्य देखिएपछि स्थानीय तथा आसपासका मानिसहरू त्रसित बने।
केही बेरमै आगो फैलिएको र मानिसहरू चिच्याएको दृश्य देखिए पनि उक्त घटना वास्तविक नभई आगलागीसम्बन्धी कृत्रिम अभ्यास थियो आगलागीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य क्षमता परीक्षण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा संयुक्त आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयको सहभागिता थियो। रेबान पोखराको सहकार्यमा गरिएको अभ्यासमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ग्यास चुहावटका कारण आगलागी हुँदा तत्काल अपनाउनुपर्ने उद्धार तथा नियन्त्रणका उपायहरू प्रदर्शन गरिएको थियो ।
आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि सुरक्षा निकायलाई खबर गर्ने, घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली पुगेर उद्धार र आगो नियन्त्रण गर्ने अभ्यास गरिएको थियो। भवनभित्र मानिस फसेको अवस्थाको समेत अभ्यास गराउँदै उद्धारकर्मीले पीडितलाई सुरक्षित स्थानमा निकाल्ने, घाइतेलाई प्राथमिक उपचार गर्ने तथा थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने प्रक्रिया प्रदर्शन गरेका थिए ।
त्यस्तै, साँघुरो गल्ली तथा घना बस्तीमा दमकल पुग्न कठिन हुने अवस्थालाई समेत अभ्यासमा समेटिएको थियो। यस्तो अवस्थामा पोर्टेबल फायर पम्प, पानी, बालुवा तथा उपलब्ध अन्य साधनको प्रयोग गरी आगो नियन्त्रण गर्ने तरिका देखाइएको थियो ।आगलागी अन्य होटल तथा रिसोर्टमा फैलिन नदिन फायरलाइन बनाउने, भवनभित्र रहेका मानिस तथा सामानलाई सुरक्षित स्थानमा सार्ने र जोखिम मूल्याङ्कन गर्दै उद्धार तथा नियन्त्रणको काम अघि बढाउने अभ्यास पनि गरिएको थियो ।