पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार साँझ बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरतर्फबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टर साँझ करिब ८ बजे स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।
दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डल, १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गङ्गिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास र १८ वर्षीय गोपाल यादव घाइते भएका छन् । यस्तै, ३३ वर्षीया मोनाकुमारी मण्डल, ५० वर्षीया चन्द्रकुमारी दास, ६० वर्षीय रामदुलारी दास, ४४ वर्षीया रामकुमारी दास, १७ वर्षीय पन्चा मण्डल, १७ वर्षीय आशिषकुमार यादव, १२ वर्षीया बिकी मण्डल, बिनाकुमारी मण्डल र १३ वर्षीय कृष्णाकुमार यादव पनि घाइते भएका छन् ।
प्रहरी नायब उपरीक्षक पालका अनुसार घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।