काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) का खेल स्टार स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
यसका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) र स्टार स्पोर्टस्बीच सम्झौता भएको छ । स्टार स्पोर्टस्लाई आधिकारिक प्रसारण साझेदारका रूपमा घोषणा गर्दै एनपीएलले हर्ष व्यक्त गरेको छ। एनपीएलले भनेको छ, "हामी स्टार स्पोर्टस्लाई नेपाल प्रिमियर लिगको आधिकारिक प्रसारण साझेदारका रूपमा घोषणा गर्न पाउँदा अत्यन्त उत्साहित छौं ।"
मंसीर १५ देखि सुरु हुने
एनपीएल मंसीर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तालिका छ । यस प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अझ रोमाञ्चक बनाउन विभिन्न टोलीले विदेशी खेलाडीलाई अनुबन्ध गरिरहेका छन् ।
शिखर धवन खेल्ने तयारीमा
भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्सबाट खेल्ने घोषणा भइसकेको छ । यसले लिगलाई अन्तर्राष्ट्रिय रूपमा थप ध्यानाकर्षण गराउने विश्वास गरिएको छ । एनपीएलले स्टार स्पोर्टस्को अन्तर्राष्ट्रिय पहुँचका कारण नेपाली क्रिकेटलाई विश्वभरि चिनाउन मद्दत पुग्ने अपेक्षा गरेको छ ।