जितपुरसिमरा उपमहानगरपालिका–१७ स्थित जैतापुर र रामनगर जोड्ने पसाहा खोलाको पक्की पुल शिलान्यास भएको करिब चार वर्ष पुग्न लाग्दा पनि निर्माण सुरु हुन सकेको छैन ।
पुल निर्माण हुने आशामा बसेका स्थानीय अहिले निराश बनेका छन् । २०७९ असोज ९ गते तत्कालीन वन तथा वातावरणमन्त्री एवं हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पसाहा खोलामा जैतापुर–रामनगर र खमुवा–मधुवन जोड्ने दुई पुलको एकैदिन शिलान्यास गर्नुभएको थियो । तीमध्ये खमुवा–मधुवन पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसके पनि जैतापुर–रामनगर पुलको काम भने अघि बढ्न सकेको छैन ।
सिमरा–कोल्हवी सडकखण्डअन्तर्गत निर्माण हुने पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र निर्माणस्थलको साइट क्लियर गर्ने कामसमेत सम्पन्न भएको बताइएको छ । शिलान्यासका बेला करिब ४० करोड रुपैयाँ लागतमा १६५ मिटर लामो पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरिएको थियो । वडा नम्बर १७ का अध्यक्ष भीमबहादुर गन्तानका अनुसार निर्माणस्थलको अनुगमन गरी चारकिल्ला निर्धारण गर्नुका साथै नगरपालिकाको अगुवाइमा साइट क्लियर गर्ने कामसमेत सम्पन्न भइसकेको छ । तर, मुख्य निर्माण कार्य सुरु हुन सकेको छैन ।
स्थानीय नवराज खड्काले पर्याप्त तयारी र बजेट सुनिश्चित नगरी पुल शिलान्यास गरिएको आरोप लगाउनुभयो । उहाँले शिलान्यासपछि पुल बन्ने आशा जागे पनि वर्षौं बित्दा निर्माण सुरु नहुनु दुःखद् भएको बताउनुभयो । पसाहा खोलामा वर्षायाममा बाढी तथा डुबानका कारण आवतजावत कठिन हुने गरेको स्थानीयको गुनासो छ । सुख्खायाममा समेत बालुवा र धुलोका कारण समस्या हुने गरेको उनीहरू बताउँछन् । पुल नहुँदा एउटै वडाका बासिन्दालाई वडा कार्यालय तथा अन्य सेवा केन्द्रसम्म पुग्नसमेत लामो र जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
स्थानीयले पुल निर्माण भएपछि आवतजावत सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा र व्यापारिक गतिविधिमा समेत सहजता आउने अपेक्षा गरेका छन् । तर, लामो समयदेखि निर्माण सुरु नहुँदा शिलान्यासप्रतिको स्थानीयको आशा निराशामा परिणत हुँदै गएको छ ।