जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका विभिन्न पालिकाबाट हराएका २६ जनामध्ये २० जनालाई सकुशल फेला पारेको छ ।
प्रहरीले साउन १ गतेदेखि २३ गतेसम्म परेको निवेदनका आधारमा खोजी गर्दा २० जनालाई फेला पारेको हो । हराएका ६ जनाको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार उक्त अवधिमा १२ जना महिला, १२ जना बालिका, एक जना बालक र एक जना पुरुष गरी कुल २६ जना हराएका थिए ।
फेला परेकामध्ये १० जना महिला, आठ जना बालिका, एक जना बालक र एक जना पुरुष रहेका छन् । उद्धार गरिएका अधिकांश व्यक्तिलाई सीमावर्ती भारतीय बजार क्षेत्रबाट सकुशल फेला पारिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । अझै बेपत्ता रहेका दुई जना महिला र चार जना बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले बेपत्ता छ जनाको अवस्था पत्ता लगाउन प्रहरी टोली सक्रिय रूपमा परिचालित रहेको बताए ।
जिल्ला प्रहरी तथा मातहतका प्रहरी कार्यालयसँगै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग आवश्यक समन्वय गरी खोजी कार्य तीव्र पारिएको उनले जानकारी दिए ।