पर्सा जिल्लाका विभिन्न खोलाबाट अवैधरूपमा गिटी तथा बालुवा उत्खनन र ओसारपसार गर्ने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले निगरानी तथा कारबाहीलाई तीव्रता दिएको छ ।
सोही क्रममा प्रहरीले भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेका तीन थान ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले जिराभवानी गाउँपालिका–५, शङ्कर सरैयाबाट एक थान ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, पटेर्वासुगौली गाउँपालिका–५, मनिहर्वाबाट थप दुई थान ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ट्र्याक्टरमा ना.३ त ५५३६, प्र.२–०३–००१ त २४११ र को.१ त ९१४५ नम्बरका सवारीसाधन रहेका छन् ।
पर्सा जिल्लाका भलुवाही, गादी, जमुनिया, सियाही, करजनिया र भेडाहालगायतका खोलामा हुने अवैध उत्खनन तथा दोहन नियन्त्रण गर्न प्रहरीले निगरानी र सक्रियता बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियन्त्रणमा लिइएका ट्र्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको छ ।
खोलाबाट हुने अवैध गिटी तथा बालुवा उत्खननले नदीजन्य पदार्थको अनियन्त्रित दोहनसँगै वातावरणीय तथा प्राकृतिक स्रोतमा समेत असर पार्ने भएकाले प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी बढाएको जनाएको छ ।