बैंकबाट बोलेको र केवाईसी (KYC) अपडेट गर्नुपर्ने भन्दै सर्वसाधारणलाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा बाराका एक युवकसहित चार जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासीका जयकुमार केवट र विद्यासागर केवट तथा पर्साका कुवेर थापा रहेका छन् ।
साइबर ब्यूरोका अनुसार उनीहरूले बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कलमार्फत बैंकबाट बोलेको भन्दै केवाईसी अपडेट गर्नुपर्ने बताएका थिए । त्यस क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने वा ओटीपी कोड माग्ने र त्यसपछि बैंक खातामा रहेको रकम अन्य खातामा ट्रान्सफर गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत ठगी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बैंक तथा वित्तीय संस्थाका नाममा आउने फोन, म्यासेज वा ह्वाट्सएप कलमा व्यक्तिगत विवरण, ओटीपी तथा बैंक खातासम्बन्धी संवेदनशील जानकारी नदिन आग्रह गरेको छ ।