वीरगंजस्थित नेशनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकहरूले सञ्चालन गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् ।
कलेज प्रशासन र आन्दोलनरत चिकित्सकबीच विभिन्न माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरू आजैदेखि नियमित ड्युटीमा फर्कने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय, नेपाल मेडिकल काउन्सिल, आवासीय चिकित्सक तथा कलेज प्रशासनबीच भएको वार्तापछि सहमति जुटेको हो । सम्झौतामा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा हस्ताक्षर गरिएको छ ।
सम्झौताअनुसार आन्दोलन तथा असहमतिमा सहभागी भएकै कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव वा धम्की नदिइने प्रतिबद्धता जनाइएको छ। त्यस्तै, कलेज वा छात्रावासबाट निष्कासनसमेत नगरिने सहमति भएको छ । चिकित्सकहरूको आर्थिक तथा कार्यसम्बन्धी मागलाई समेत सम्झौतामा समेटिएको छ। कटौती गरिएको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गर्ने, सातामा दुईभन्दा बढी २४ घण्टे ड्युटी नतोक्ने तथा ड्युटीपछिको आरामसम्बन्धी व्यवस्था निर्णयअनुसार कार्यान्वयन गर्ने सहमति भएको छ ।
त्यसैगरी, नियमित परीक्षा तथा शोधपत्र स्वीकृतिमा अनावश्यक ढिलाइ नगर्ने र चिकित्सकलाई अयोग्य ठहर्याउने गतिविधि नगर्ने उल्लेख गरिएको छ । सम्झौतामा राजीनामा दिएका तथा रिलिज लेटर प्राप्त गरेका आवासीय चिकित्सकहरूलाई समेत बिनासर्त पुनः भर्ना गर्ने सहमति भएको छ । स्त्री तथा प्रसूति रोग विभागका ६ जना चिकित्सकको अनुपस्थिति तथा कटौती गरिएको स्टाइपेन्ड फिर्ताका लागि त्रिभुवन विश्वविद्यालयको आईओएम क्याम्पसमा आवश्यक पहल गरिने जनाइएको छ ।
यस्तै, विभागीय प्रमुखको विवरण वा पुष्टिका आधारमा चिकित्सकहरूको हाजिरी कायम गरिने भएको छ। २०८३ वैशाख १३ गतेदेखि छुटेका हाजिरी पुनः कायम गर्न आईओएम डिन कार्यालयसँग समन्वय गरिने सहमति भएको छ । बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र कार्यक्रम संयोजक दुवैको हस्ताक्षर पर्याप्त हुने व्यवस्था पनि सम्झौतामा समेटिएको छ ।
कलेज प्रशासनले सम्झौतामा हस्ताक्षर गर्दै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । उता, आवासीय चिकित्सकहरूले पनि सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्।
लामो समयदेखि जारी असहमति र आन्दोलन सहमतिमा टुंगिएसँगै नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधि नियमित हुने अपेक्षा गरिएको छ । अब सहमतिमा उल्लेख गरिएका बुँदाहरू कलेज प्रशासनले व्यवहारमा कत्तिको कार्यान्वयन गर्छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ ।