रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उच्च सतर्कता अपनाउन तथा उद्धार र राहतमा जुट्न अपिल गरेका छन् ।
प्रचण्डले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।सामाजिक सञ्जालमार्फत अपिल गर्दै प्रचण्डले विपद्को यस घडीमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको उल्लेख गरेका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगमा जुट्न आह्वान गरेका छन् ।
प्रचण्डले आफ्नो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न र स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । यसैगरी, रास्वपा सभापति रवि लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न पार्टीका नेता, सदस्य र शुभेच्छुकलाई आग्रह गरेका हुन्। उनले स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै विपद्सम्बन्धी सूचना प्रवाह गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेका छन्।
रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय सहभागी हुन लामिछानेले निर्देशन दिएका छन् । यस्तै, कांग्रेस सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाढीका कारण रसुवाको अवस्था गम्भीर र चिन्ताजनक बनेको भन्दै थापाले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अपिल गरेका छन् । उनले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
विपद् व्यवस्थापनमा सरकारका प्रयासमा कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै थापाले पार्टीका सम्पूर्ण समिति तथा नेता–कार्यकर्तालाई उद्धार र राहत कार्यमा तत्काल परिचालन हुन आग्रह गरेका छन् ।