रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्म ६१६ जनाको शव फेला परेको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको जानकारी दिए । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, सरोकार भएका निकाय, स्थानीयलगायतको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीका प्रवक्ता काफ्लेले जानकारी दिए ।
यसैबीच, भोटेकोशी बाढीमा परी चितवनका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शव गाड्ने निर्णय गरिएको छ ।
पहिचान भएका ४ वटा शवबाहेक बाँकी शवहरू सडेगलेको अवस्थामा पुगेका र महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो । होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू कुहिन थालेको र दुर्गन्धका कारण सङ्क्रमण एवम् महामारी फैलिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए।
सोही राय र विश्लेषणका आधारमा शवहरूलाई थप सड्न–गल्न नदिन, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न यो बाध्यता उत्पन्न भएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकको निर्णयानुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरूको व्यवस्थापन गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनाएका छन् ।
भविष्यमा पहिचानका लागि सहज होस् भनेर शवहरूको डिएनए नमूना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने पनि जनाइएको छ।
शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका वडा नं १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिने प्रजिअ अर्यालले जानकारी दिएका छन् ।