भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बाढीपछि ती आयोजनामा कार्यरत कुल ८९८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका थिए। तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ भने ५३७ जना अझै सम्पर्कविहीन रहेका छन्।
सबैभन्दा बढी कर्मचारी तथा श्रमिक २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाबाट सम्पर्कविहीन भएका छन्। इप्पानका अनुसार उक्त आयोजनाका ५७६ जना सम्पर्कविहीन भएकामा २५४ जनाको उद्धार भइसकेको छ। अझै करिब ३०० जना श्रमिक तथा कर्मचारी आयोजनाको सुरुङभित्र फसेको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरुङमार्गमा खोजी कार्य भइरहेको छ।
त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाका ९३ जना अझै सम्पर्कविहीन छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजनाका चार जना पनि सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
लाङ्टाङ खोला जलविद्युत आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामा १८ जनाको उद्धार भइसकेको छ। त्यसैगरी चिलिमे हाइड्रोपावरका आठ जना र मैलुङ खोला हाइड्रोपावरका सात जना सम्पर्कविहीन छन्। माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत आयोजनाका ४२ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ। सो आयोजनाका बाँकी ३१ जना अझै सम्पर्कविहीन छन्। त्रिशूली जलविद्युत आयोजनाका एक जना, देवीघाट जलविद्युत आयोजनाका एक जना र मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजनाका दुई जना समेत सम्पर्कविहीन रहेका छन्।
बाढीपछि जलविद्युत आयोजनाहरूमा कार्यरत कर्मचारी तथा श्रमिकको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित आयोजनाका टोली परिचालन भएका छन्। विशेषगरी सुरुङभित्र फसेका श्रमिकको अवस्था यकिन गरी उद्धार गर्न चुनौती देखिएको छ।