जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने विषयमा नेपाल र भारतका अधिकारीबीच छलफल सुरु भएको छ।
नेपाल रेल्वे कम्पनी, भारतीय रेल्वे, भन्सार, अध्यागमन तथा सुरक्षा निकायका अधिकारीबीच बिहीबार भारतको जयनगरमा पहिलो चरणको छलफल भएको हो।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार जयनगरस्थित रेल्वे स्टेसनको विश्रामगृहमा भएको बैठकमा जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वतयारीबारे छलफल गरिएको थियो।
बैठकमा रेल लिङ्क तथा सिग्नलिङ प्रणाली, यात्रु आवागमन, अध्यागमन तथा भन्सार जाँच, यात्रुका लागि आवश्यक सुविधा र सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको पराजुलीले जानकारी दिए।
विशेष रेल सेवा सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा समेत सैद्धान्तिक सहमति भएको बताइएको छ ।
छलफलमा दुवै देशका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमनसम्बन्धी अधिकारी सहभागी थिए। बैठकपछि दुवै देशका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेका थिए । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै कुर्था र बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ। यही रेल पूर्वाधारलाई उपयोग गर्दै अयोध्यासम्म विशेष रेल सेवा विस्तार गर्ने विषयमा छलफल अघि बढाइएको हो ।
जनकपुरधामलाई अयोध्यासँग रेलमार्फत जोड्ने योजनालाई नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउने महत्वपूर्ण योजनाका रूपमा हेरिएको छ। सेवा सञ्चालनमा आएमा जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटक तथा तीर्थयात्रीको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
जनकपुरधामलाई सीताको जन्मभूमि तथा अयोध्यालाई भगवान् रामको नगरीका रूपमा लिइने भएकाले यी दुई धार्मिक सहरलाई प्रत्यक्ष रेल सेवामार्फत जोड्दा रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
धार्मिक पर्यटकको आवागमन बढेसँगै दुवै देशका धार्मिक तथा सांस्कृतिक गन्तव्य आसपास आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय व्यवसाय, पर्यटन तथा रोजगारीका अवसरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।