पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहाँ मैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निसान कारलाई रोकी चेकजाँच गर्दा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।
ती पोकाहरू खोलेर हेर्दा प्लास्टिकसहित ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले कारसहित बरामद गाँजा नियन्त्रणमा लिई धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ बस्ने २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेका चेपाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।