नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको लगातार तेस्रो खेलमा जित हात पार्दै नेपालले एक खेल अगावै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्यो । साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा गुल्शन झाले अविजित ४४ रन बनाए । रोहित पौडेलले पनि अविजित २४ रनको योगदान दिए । त्यसअघि इशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए ।
साउदी अरेबियाका इस्तियाख अहमद र मोहम्मद आतिफले दुई–दुई तथा मोहम्मद हिशमले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९।२ ओभरमा १९० रनमा अलआउट भएको थियो । साउदीका अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० तथा मोहम्मद हिशम शेखले १८ रन बनाए ।
नेपालका बलरमध्ये कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १९ रन खर्चिएर तीन विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन र शेर मल्लले एक विकेट लिए ।
नेपालले प्रतियोगिताको यसअघिका खेलमा बहराइन र मलेसियालाई पराजित गरेको थियो । लगातार तीन जितसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ । उक्त खेलपछि समूहको विजेता टोलीको टुङ्गो लाग्नेछ । समूह विजेता बने नेपालले सेमिफाइनलमा अर्को समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।