बारा । बाराको पचरौता नगरपालिका–७ बाट प्रहरीले १५१ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
शनिबार राति धान खेतको आली हुँदै गाँजा ओसारिरहेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी चौकी श्रीनगर बैरियाका प्रहरी सहायक निरीक्षक राजेश सिंह र सशस्त्र प्रहरी बल नेपाल, बीओपी बेनौलीका सशस्त्र प्रहरी नायव निरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा खटिएको संयुक्त एम्बुस टोलीले गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतको बाटो हुँदै पिठ्युँमा झोलाजस्तो बनाएर गाँजा बोकेका ८ देखि ९ जनाको समूहलाई नियन्त्रणमा लिन खोजिएको थियो। प्रहरीलाई देखेपछि उनीहरूले गाँजाका पोका खेतमै फालेर फरार भएका थिए ।
प्रहरीले घटनास्थलबाट ९ वटा जुटका बोरामा राखिएको गाँजा बरामद गरेको हो । बरामद गाँजा तौल गर्दा प्रतिपोका १६ किलो ७७० ग्रामका दरले कुल १५१ किलो रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो । बरामद गाँजा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।
गाँजा फालेर फरार भएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।