पर्साको भलुहिआई खोरमोर गाउँदेखि सेनवर्षा हुँदै जंगलको फोरलेन क्षेत्रसम्म बालुवा–गिट्टीको उत्खनन् तथा निकासी तीव्र रूपमा भइरहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा दैनिक ५० देखि ६० वटासम्म ट्र्याक्टरमा बालुवा तथा गिट्टी उत्खनन् गरी निकासी भइरहेको छ । चुरे क्षेत्र तथा खोलाबाट निरन्तर प्राकृतिक स्रोतको उत्खनन् भइरहेकाले वातावरणीय क्षति बढ्दै गएको उनीहरूको भनाइ छ । विशेषगरी जमुनी खोलालगायतका क्षेत्रमा भइरहेको उत्खनन् र निकासीले चुरे संरक्षणमा गम्भीर असर परेको स्थानीयको गुनासो छ । अनियन्त्रित रूपमा बालुवा–गिट्टी निकालिँदा खोलाको प्राकृतिक स्वरूप बिग्रिनुका साथै भू–क्षय र चुरे क्षेत्रको पारिस्थितिक प्रणालीमा समेत असर पुग्ने जोखिम बढेको छ ।
स्थानीयले उत्खनन् तथा निकासीमा संलग्नलाई नियमन गर्नुपर्ने र चुरे क्षेत्र संरक्षणका लागि सम्बन्धित निकायले प्रभावकारी अनुगमन तथा कारबाही गर्नुपर्ने माग गरेका छन् । उत्खनन् तथा निकासीमा स्थानीय प्रहरी र सम्बन्धित वन कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोपसमेत स्थानीयले लगाएका छन् । जमुनी खोला, रंगपुर सब–डिभिजन, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली तथा रंगपुर प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाइएको छ ।
यद्यपि, प्रहरी तथा सम्बन्धित निकायमाथि लगाइएको मिलेमतोको आरोपबारे आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। यस विषयमा सम्बन्धित निकायको प्रतिक्रिया लिन आवश्यक देखिन्छ ।