रसुवा र नुवाकोट जिल्लाका बाढीपीडित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि पर्साको जिराभवानी गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बसेको बैठकले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने सर्वसम्मत निर्णय गरेको हो । भदौ १० गते बिहान भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । गाउँ कार्यपालिकाले विपद्मा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
गाउँपालिका अध्यक्ष अनोज चौधरीद्वारा जारी विज्ञप्तिअनुसार विपद् व्यवस्थापन तथा पुनर्निर्माणका लागि गाउँपालिकाले विभिन्न स्रोतबाट आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु ५ लाख ५५ हजार नगद सहयोग प्रदान गरिनेछ। त्यस्तै, गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा सुविधाबापतको रकम समेत सहयोग गरिने निर्णय गरिएको छ ।
यसैगरी, गाउँपालिकाका स्थायी कर्मचारीको हकमा नेपाल सरकारको निर्णयबमोजिम रकम सहयोग गरिनेछ। करार सेवामा कार्यरत कर्मचारीमध्ये अधिकृतस्तरका कर्मचारीको सुरु तलब स्केलबराबरको ५ दिनको रकम तथा सहायक र श्रेणीविहीन कर्मचारीको ३ दिनबराबरको रकम कट्टा गरी राहत कोषमा पठाइने जनाइएको छ ।
गाउँपालिकाले आपत्कालीन अवस्थामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ । गाउँपालिकाले विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व रहेकोसमेत जनाएको छ ।
भिडियाे सामाग्री