महोत्तरीको जलेश्वर भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/८३ मा भारतबाट ८ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य तथा खाद्य वस्तु नेपाल भित्रिएका छन् । स्वदेशमै उत्पादन गर्न सकिने कृषि उपजसमेत ठूलो परिमाणमा आयात हुन थालेपछि नेपालको कृषि क्षेत्रको बढ्दो परनिर्भरता तथ्यांकमार्फत देखिएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, क्वारेन्टाइन कार्यालय जलेश्वर, महोत्तरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट जलेश्वर नाका हुँदै कुल ८ अर्ब ४५ करोड ५५ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका खाद्यान्न तथा प्रशोधित कृषिजन्य वस्तु आयात भएका हुन् । यस अवधिमा यस्ता वस्तुको कुल आयात परिमाण २ लाख ३६ हजार ३८८ दशमलव ५ मेट्रिक टन रहेको छ । क्वारेन्टाइन कार्यालय जलेश्वरका निमित्त प्रमुख किशोरकुमार यादवका अनुसार आयातित वस्तुको समूहगत विवरण हेर्दा सबैभन्दा ठूलो हिस्सा प्रशोधित तथा अन्य कृषिजन्य खाद्य वस्तुले ओगटेको छ ।
यस समूहअन्तर्गत मात्रै ३ अर्ब ८९ करोड ४६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । कसुरी मेथी, मेथी दाना, हिङ, धनियाँ दाना, बेसार, कालो मरिच, राइस ब्रान, राइस डिडिजी, सोया फिट, कनिका, बिडीका पातलगायत सामग्री यस समूहमा पर्छन् । यी वस्तु मात्रै १ लाख १ हजार ४६६ दशमलव ५ मेट्रिक टन आयात भएको विवरणमा उल्लेख छ । यसमध्ये बिडीका पातको आयात ४३५ दशमलव ४ मेट्रिक टन रहेको छ ।
प्रशोधित कृषिजन्य वस्तुपछि धान, चामल, गहुँ, जौ र बाजरालगायत खाद्यान्नको आयात उल्लेख्य छ । यी खाद्यान्न वस्तुको आयातमा मात्रै १ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ बराबर रकम भारत गएको छ । खाद्यान्न समूहमा धानको हिस्सा विशेष ठूलो देखिन्छ । गत आर्थिक वर्षमा जलेश्वर नाका हुँदै २६ हजार ७७४ मेट्रिक टन धान आयात भएको छ । यसको मूल्य मात्रै ८५ करोड ६८ लाख रुपैयाँ रहेको क्वारेन्टाइन कार्यालयको तथ्यांकले देखाएको छ । धानसँगै बासमती चामल, चामल, गहुँ, मकै, जौ र बाजरा पनि भारतबाट ल्याइएको छ ।
त्यस्तै, तरकारी तथा तरकारीजन्य खाद्य वस्तुको आयातमा पनि ठूलो रकम बाहिरिएको छ । यस समूहका वस्तु आयातमा करिब १ अर्ब ३६ करोड ९८ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । आलु र प्याज यसको मुख्य हिस्सा हुन् । वार्षिक विवरणअनुसार आलु मात्रै करिब ३ अर्ब १८ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको आयात भएको छ भने प्याजको आयातमा १ अर्ब २१ करोड २७ लाख २० हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ ।
परवल, काक्रो, भण्टा, खुर्सानी, भिन्डी, चुकन्दर, हरियो केराउ, लौका, गाजरलगायतका तरकारीसमेत भारतबाट जलेश्वर नाका हुँदै नेपाल भित्रिएका छन् । तरकारीसँगै धान, बासमती चामल, चामल, गहुँ, मकै, जौ र बाजरालगायत खाद्यान्नको आयातले पनि नेपाली बजारको भारतीय उत्पादनमाथिको निर्भरता स्पष्ट पार्छ । दलहनको आयातमा पनि उल्लेख्य रकम बाहिरिएको छ । गत आर्थिक वर्षमा भारतबाट विभिन्न प्रकारका दाल तथा दलहन आयात गर्दा ३० करोड ६० लाख रुपैयाँ रकम खर्च भएको छ ।
रहर दाल, मास/उडद दाल, चना गेडा, चना दाल, मसुरो दाल, बकुल्ला दाल, राजमा र मुग दाल यस समूहमा आयात भएका छन् । दलहनमध्ये चना र रहर दालको आयात उल्लेख्य देखिन्छ । विवरणअनुसार १ हजार १०७ मेट्रिक टन चना तथा ८४२ दशमलव ६ मेट्रिक टन रहर दाल भारतबाट आयात गरिएको छ । स्वदेशी उत्पादन पर्याप्त हुन नसक्दा नेपाली उपभोक्ता र बजार भारतबाट आउने दलहनमा समेत निर्भर हुनुपरेको तथ्यांकले देखाएको छ ।
फलफूलको आयातमा पनि ठूलो रकम बाहिरिएको छ । भारतबाट स्याउ, सुन्तला, अनार, केरा, अंगुर, नरिवल, अम्बा, सरिफा, मेवा, अंजीर, लिची र भुइँकटहरलगायत फलफूल आयात गरिएको छ । गत आर्थिक वर्षमा यस्ता फलफूल ९ हजार ७२५ मेट्रिक टन आयात हुँदा यसको मूल्य करिब ७० करोड रुपैयाँ रहेको छ । फलफूलमध्ये स्याउको आयात सबैभन्दा बढी छ । तथ्यांकअनुसार भारतबाट करिब २२ करोड ३७ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यसपछि अनारको आयातमा २० करोड ८५ लाख रुपैयाँ र अंगुरमा करिब ११ करोड १९ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ । तेलहनतर्फ ५० लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
जलेश्वर भन्सार नाकाबाट एक वर्षमा कृषिजन्य वस्तुको आयातमा मात्रै अर्बौं रुपैयाँ बाहिरिनुले नेपालको कृषि उत्पादन र बजार व्यवस्थापनको अवस्थामाथि प्रश्न उठाएको छ । देशभरको आयातसँग तुलना गर्दा कृषि तथा खाद्य वस्तुमा बाहिरिने रकम अझ ठूलो ७ खर्ब रुपैयाँभन्दा बढी रहेको छ ।