नेपाली कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले किर्गिस्तानमा जारी छैटौँ विश्व नोमाड गेम्स–२०२६ मा पाँचौँ स्थानमा प्रतियोगिता टुंग्याएका छन्।
१०० केजीभन्दा माथिको पुरुष तौल समूहमा नेपालको प्रतिनिधित्व गरेका यादवले प्रतियोगितामा इन्डोनेसिया र अफगानिस्तानका प्रतिस्पर्धीलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। सेमिफाइनलमा आयोजक काजकिस्तानका खेलाडीसँग पराजित भएपछि उनी पाँचौँ स्थानमा रहेका हुन्।
यादवका अनुसार यस संस्करणको विश्व नोमाड गेम्समा ८५ देशका खेलाडी सहभागी छन्। कुस्ती विधामा मात्र ६५ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म सञ्चालन भएको प्रतियोगितामा कुस्ती तथा बेल्ट रेस्लिङका विभिन्न विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। नेपाली टोलीबाट यादवले कुस्तीमा सहभागिता जनाएका हुन्। उनलाई प्रशिक्षक मुम्ताज अली इद्रिसीले प्रशिक्षण तथा प्राविधिक सहयोग गरेका थिए।
अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धीबीच पाँचौँ स्थान हासिल गर्नु नेपाली कुस्तीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। विभिन्न देशका अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्दा प्राप्त अनुभवले नेपाली खेलाडीको क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुनुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई कार्यक्रमबीच बिदाइ गरेका थिए। उक्त अवसरमा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्रबहादुर बस्नेतसहित खेल क्षेत्रका पदाधिकारीहरूको उपस्थिति थियो।
बिदाइ कार्यक्रममा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका यादवलाई सफलताको शुभकामना दिएका थिए।
सीमित स्रोत र साधनका बाबजुद नेपाली कुस्ती खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। विश्वस्तरीय प्रतियोगितामा हासिल गरेको अनुभवले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीको प्रदर्शन थप सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।