रातको समय थियो ।
नारायणी अस्पतालको प्रसूति वार्डमा एउटी आमाले भर्खरै जन्मिएको आफ्नो छोरालाई काखमा लिएर मातृत्वको खुसी अनुभव गरिरहेकी थिइन् । शल्यक्रियामार्फत जन्मिएको त्यो शिशु एक दिनको मात्रै थियो । आमाको काखमा उसको सानो शरीर थियो भने परिवारको आँखामा भविष्यका हजारौँ सपना ।
तर, केही समयमै त्यो खुसी त्रासमा बदलियो ।
शिशुकी हजुरआमा अस्पतालमा कुरुवाका रूपमा थिइन् । त्यही क्रममा एक महिलाले बच्चा खेलाउने भन्दै शिशु मागिन् । विश्वास गरेर हजुरआमाले एक दिने नातिलाई ती महिलाको हातमा दिइन् । तर, केही क्षणमै ती महिला शिशु लिएर अस्पतालबाट फरार भइन् ।
एकछिनअघि आफ्नै काखमा रहेको नाति अचानक हराएपछि परिवारमा कोलाहल मच्चियो । आमाको खुसी चिच्याहटमा बदलियो । परिवारका सदस्यहरू अस्पताल परिसरमा बच्चा खोज्दै दौडिए । प्रहरीलाई खबर गरियो ।
१६ घण्टाको छटपटी
एकातिर आफ्नै सन्तान हराएको पीडामा परिवार छटपटाइरहेको थियो । अर्कोतिर त्यही एक दिने शिशु अपरिचित महिलाको हातमा थियो ।
प्रहरीले तत्काल खोजी सुरु गर्यो । अस्पताल परिसरदेखि सम्भावित स्थानसम्म प्रहरी परिचालन भयो । परिवारका सदस्यका लागि त्यो रात निकै लामो बन्यो । आँखामा निद्रा थिएन, मनमा एउटै चिन्ता थियो—बच्चा सकुशल भेटियोस् ।
अन्ततः करिब १६ घण्टापछि परिवारको प्रतीक्षा समाप्त भयो ।
वीरगञ्ज महानगरपालिका–१६, इनर्वाबाट प्रहरीले नवजात शिशुसहित एक महिलालाई पक्राउ गर्यो । शिशु सकुशल अवस्थामा फेला पर्यो । पक्राउ पर्नेमा स्थानीय सबिना खातुन रहेको प्रहरीले जनाएको छ ।
‘सन्तान नभएकाले बच्चा चोरेँ’
पर्सा प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार, खातुनले आफूलाई सन्तान नभएकाले बच्चा चोरी गरेको बताएकी छन् ।
यही एउटा भनाइले यो घटनालाई केवल ‘शिशु चोरी’को घटनामा सीमित राख्दैन । यसले हाम्रो समाजको अर्को कठोर अनुहारतर्फ पनि प्रश्न तेर्स्याउँछ ।
‘बच्चा कहिले हुन्छ ?’—सामान्य प्रश्न कि गहिरो घाउ ?
हाम्रो समाजमा विवाहपछि महिलालाई सोधिने सबैभन्दा सामान्य प्रश्नमध्ये एक हो—‘बच्चा कहिले हुन्छ ?’
पहिलोपटक सोध्दा सामान्य लाग्न सक्छ । दोस्रोपटक पनि सामान्य नै लाग्न सक्छ । तर वर्षौँसम्म एउटै प्रश्न दोहोरिरहँदा त्यसले व्यक्तिको मनमा कस्तो असर पार्छ ?
सायद हामीले त्यसबारे पर्याप्त सोचेकै छैनौँ ।
परिवारमा बच्चा जन्मिँदा सबैभन्दा धेरै खुसी हुनेहरू नै कहिलेकाहीँ बच्चा नहुँदा त्यही महिलालाई प्रश्नको कठघरामा उभ्याइरहेका हुन्छन् ।
‘के भयो ?’
‘डाक्टरलाई देखायौ ?’
‘तिम्रो कारणले त होइन ?’
‘कहिले बच्चा जन्माउने ?’
यस्ता प्रश्नहरू बिस्तारै प्रश्न मात्र रहँदैनन् । ती सामाजिक दबाबमा परिणत हुन्छन् । समाजमा अझै पनि सन्तान नहुनुको दोष धेरैजसो महिलाकै टाउकोमा थोपर्ने प्रवृत्ति छ । कतिपय महिलाले आफ्नै परिवारभित्रबाट अपमान र मानसिक पीडा सहनुपर्छ । अरूका बच्चा काखमा देख्दा मुस्कुराउनुपर्ने बाध्यता हुन्छ, जबकि आफ्नै मनभित्र मातृत्वको चाहनाले आँधी ल्याइरहेको हुन सक्छ ।
कसैलाई ‘बाँझी’ भनेर सम्बोधन गरिन्छ । कसैलाई परिवारको वंश रोक्ने व्यक्तिका रूपमा हेरिन्छ ।
तर, धेरै कम मानिसले सोध्छन् । त्यो महिलाको मनभित्र कति पीडा छ ? आमा बन्ने चाहना स्वाभाविक हो । आफ्नो काखमा बच्चा खेलोस्, उसको पहिलो बोली सुनियोस्, उसको हात समातेर हिँड्न पाइयोस् भन्ने चाहना मानवीय भावना हो । तर मातृत्वको यही चाहना जब सामाजिक दबाब, अपमान र मानसिक पीडासँग मिसिन्छ, मानिस भावनात्मक रूपमा कमजोर बन्न सक्छ ।
यो घटना एउटी आमाको काख खोसिएको घटना मात्र होइन । यो हाम्रो सामाजिक सोचमाथिको प्रश्न पनि हो । एउटी आमाले आफ्नो नवजात शिशु गुमाउँदा १६ घण्टासम्म भोगेको पीडा र अर्कोतर्फ सन्तानको चाहनामा गलत बाटो रोज्न पुगेकी महिलाको कथाले समाजलाई सोच्न बाध्य बनाएको छ ।
महिलाको मूल्य उनको कोखले निर्धारण गर्न हुँदैन । सन्तान नहुनु कुनै महिलाको कमजोरी होइन । मातृत्वको चाहना स्वाभाविक हो, तर त्यसका लागि अपराधको बाटो रोज्न सकिँदैन । समाजले अब प्रश्न गर्नुपर्ने बेला आएको छ ।
के हामी सन्तानविहीन महिलालाई सहारा दिइरहेका छौँ, कि उनीहरूको पीडामाथि थप पीडा थपिरहेका छौँ ?