काठ तश्करीको अभियोगमा प्रहरी चौकी मनवाले पक्राउ गरेका एक व्यक्ति हथकडी सहित फरार भएका छन् ।
मंगलबार बिहान करिब ५ बजेको समयमा पर्साको पर्सागढी नगरपालिका–२ स्थित हरपुर गोडपसरा जाने खेतको बाटोबाट प्रहरी चौकी मनवाको गस्ती टोलीले एक जनालाई प्रमाण सहित पक्राउ गरेको थियो । सो क्षेत्रमा काठ तस्करहरूले साइकलमा करिब ६ थान काठ ढुवानी गर्दै गरेको अवस्थामा प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले काठ लोड गरेको साइकलसहित नियन्त्रणमा लिएको हो । सो क्रममा एक जना मात्रै पक्राउ परेर अन्य तश्करहरू फरार भएपछि, पक्राउ परेका व्यक्तिलाई हत्कडी लगाई काठ बरामद स्थानमा नै राखेर, बरामद काठ प्रहरी चौकी लैजान ट्याक्टरमा लोड गर्ने लागेको थियो । उक्त मौकामा प्रहरीको आँखा छलेर उनी हत्कडीसहित फरार भएको प्रहरीको भनाई छ ।
फरार भएका व्यक्ति पर्सागढी नगरपालिका वडा नं. २ निवासी दिनेश पासवान रहेको कुरा स्थानीय प्रहरीले पहिचान गरको जनाएको छ । फरार पासवानको घरबाट प्रहरीले हथकडी समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त चक्रवहादुर मल्लले बताए ।
फरार पासवान सहितका तस्करहरूको खोजी तथा अनुसन्धानमा प्रहरी परिचालन भएको प्रवक्ता मल्लले जानकारी दिएकाछन् । प्रहरीका अनुसार घटनास्थलबाट ६ वटा साइकल र सो मा लोड गरिएको ६ थान सालको गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।