लाखौं क्रिकेटप्रेमीका लागि अधैर्य प्रतीक्षाको विषय बनेको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
यतिबेला, आयोजक नेपाल क्रिकेट संघ ९क्यान० र सहभागी टोलीहरू तेस्रो संस्करणको अन्तिम तयारीमा व्यस्त देखिएका छन् ।
यसपटक एनपीएल दुई ठूला चाड दशैँ र तिहारको बीचमा परेको छ । दशैँ सकिएलगत्तै एनपीएल शुरू हुनेछ भने प्रतियोगिकै क्रममा तिहार र छठजस्ता महत्त्वपूर्ण पर्व पर्नेछन् ।
तेस्रो संस्करणमा पनि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्ट्स सहभागी हुनेछन् ।
जनकपुर बोल्ट्स पहिलो संस्करणको च्याम्पियन हो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले उचालेको थियो ।
पछिल्लो समय विश्वव्यापी रूपमा आफ्नो लोकप्रियता विस्तार गर्दै लगेको एनपीएलको तेस्रो संस्करणका लागि क्यानले मिति तय गरे पनि खेल तालिका भने सार्वजनिक गरिसकेको छैन ।
तेस्रो संस्करणका लागि खेलाडीको अक्सन ९खेलाडी खरिद–बिक्री प्रक्रिया० भने सम्पन्न भइसकेको छ । अक्सनका लागि तीन सय ४७ जना खेलाडीले नाम दर्ता गराएका थिए ।
त्यसमध्येबाट क्यानले एक सय ५५ खेलाडी छनोट गरेको थियो । सोही सूचीबाट सहभागी क्लबहरूले नयाँ सिजनका लागि खेलाडी खरिद गरेका हुन् ।
सहभागी आठवटै टोलीले अधिकांश पुराना खेलाडीलाई ‘रिटेन’ गरेका थिए भने केही नयाँ खेलाडी पनि टोलीमा भित्र्याएका छन् ।
अक्सनबाट जनकपुरले आठ, विराटनगर र काठमान्डुले सात–सात तथा चितवन, पोखरा, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीले ६–६ खेलाडी अनुबन्ध गरेका थिए ।
अक्सनमा लुम्बिनी लायन्सले सबैभन्दा बढी ४४ लाख र काठमान्डु गोर्खाजले सबैभन्दा कम १७ लाख रूपैयाँ खर्च गरेका थिए ।
एनपीएलको पहिलो र दोस्रो संस्करण जनकपुरको मार्की खेलाडी रहेका आशिफ शेखलाई अक्सनमा टोलीहरूले सबैभन्दा उच्च बोली लगाए ।
उनका लागि चितवनबाहेक सबै टोलीले २० लाख रूपैयाँ बोली लगाएका थिए । अन्ततस् उनी लक्की ‘ड्र’मार्फत लुम्बिनी पुगे ।
यसैगरी, अक्सनमा रुपेशकुमार सिंह, तृतराज दास, विवेककुमार यादव र अर्जुन घर्ती १५ लाख रूपैयाँमा बिक्री भएका थिए । यतिबेला सहभागी टोली विदेशी खेलाडीलाई भित्र्याउन सक्रिय छन् ।
आधा दर्जनभन्दा बढी विदेशी खेलाडी विभिन्न टोलीमा आबद्ध पनि भइसकेका छन् । अधिकांश विदेशी खेलाडी पनि आफ्नो पुरानै क्लबमा आबद्ध भइरहेको देखिन्छ ।
सुदूरपश्चिम रोयल्स
अघिल्ला दुई सिजनको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका सेफ अली जेब र न्युजिल्यान्डका स्कट कुगेलेइनलाई अनुबन्ध गरिसकेको छ ।
यी दुवै खेलाडीले लगातार तेस्रोपटक एनपीएल खेल्न लागेका हुन् । कुगेलेइनले पहिलो र दोस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेलेका थिए । सेफ भने पहिलो संस्करण सुदूरपश्चिम र दोस्रो सिजन चितवनको जर्सीमा मैदानमा ओर्लिएका थिए ।
उनीहरूले एनपीएलमा उत्कृष्ट प्रदर्शन पनि गर्दै आएका छन् । सेफ पहिलो सिजनमा लिगकै सर्वोकृष्ट खेलाडी पनि घोषित भएका थिए ।
कुगेलेइनका लागि पनि एनपीएल उपलब्धिमूलक रहँदै आएको छ । उनी एनपीएलमा हालसम्मकै सर्वाधिक विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा आसिन छन् ।
कुगेलेइनले हालसम्म १७ खेल खेल्दै ६.४७ को इकोनमी रेटमा २७ विकेट लिएका छन् । सेफले हालसम्म एनपीएलमा १६ खेल खेल्दै १३६।२९ को स्ट्राइक रेटमा तीन सय ९१ रन बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले यी दुई खेलाडीलाई पुनस् टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
यसपटक, सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई ‘रिटेन’ गरेको छ ।
अक्सनबाट दीपक बोहरालाई १० लाख, मिलन बोहरालाई पाँच लाख, टेक रावतलाई दुई लाख, अनिल खरेललाई पाँच लाख, सचिन भट्टलाई दुई लाख र आयुव चन्दलाई दुई लाख रूपैयाँमा खरिद गरेको छ । सुदूरपश्चिमले अक्सनमा २६ लाख रूपैयाँ खर्च गरेको थियो ।
जनकपुर बोल्ट्स
पहिलो संस्करणको विजेता जनकपुरले हालसम्म दुईजना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जनकपुरले भारतीयमूलका अमेरिकी अलराउन्डर हरमित सिंह र न्युजिल्यान्डका अलराउन्डर जिमी निसमलाई अनुबन्ध गरेको हो ।
हरमित र जिमी दुवैले लगातार तेस्रोपटक एनपीएल खेल्न लागेका हुन् । हरमितले पहिलो र दोस्रो सिजन सुदूरपश्चिमबाट खेलेका थिए । त्यतिबेला उनले उत्कृष्ट प्रदर्शन पनि गरेका थिए ।
हरमितले हालसम्म एनपीएलको १४ खेलमा २० विकेट लिनुका साथै एक सय ६१ रन बनाएका छन् । उनी जनकपुरबाट पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छन् । जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी पनि दिएको छ ।
हरमितलाई अनुबन्ध गर्दै जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ ऊर्जा, सोच र संकल्पसहित अघि बढ्ने लक्ष्यका साथ विदेशी खेलाडीलाई कप्तानी दिइएको बताएका छन् ।
यसैगरी, जिमी तेस्रो संस्करणका लागि पुनस् जनकपुरमा फर्किएका हुन् । ३५ वर्षीय जिमीले सन् २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिबेला उनले नौ खेलमा १९६ भन्दा बढीको स्ट्राइक रेटमा दुई सय ४७ रन बनाएका थिए ।
पहिलो सिजनमा उनले सात विकेट पनि लिएका थिए । दोस्रो सिजनमा जनकपुरसँग क्याप खेलाडीको कोटा नरहेकाले उनी पोखरामा आबद्ध भएका थिए । दोस्रो संस्करणको चार खेलमा उनले एक अर्धशतकसहित ९९ रन बनाउँदै पाँच विकेट पनि लिएका थिए ।
जिमीले यसपटक टेस्ट कोटामै जनकपुरबाट खेल्नेछन् । उनले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय ५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । गत फेब्रुअरीमा उनले भारतविरुद्ध टी–२० विश्वकपको फाइनल खेलेका थिए ।
जनकपुरले यसपटक अनिलकुमार साह, ललित राजवंशी, मयान यादव, आदित्य महता र विकाश आग्रीलाई ‘रिटेन’ गरेको छ । अक्सनमा भने जनकपुरले ४१ लाख २५ हजार रूपैयाँ खर्च गर्यो ।
अक्सनबाट आशुतोष पाण्डेलाई दुई लाख, अभिषेख तिवारीलाई पाँच लाख, अमरसिंह रौतेलालाई पाँच लाख, विशालकुमार पटेललाई पाँच लाख, विशाल सुस्लिङलाई दुई लाख, रित गौतमलाई चार लाख २५ हजार, सन्तोष कार्कीलाई तीन लाख र तृतराज दासलाई १५ लाख रूपैयाँमा खरिद गरेको छ ।
चितवन राइनोज
पहिलो उपाधिको खोजीमा रहेको चितवनले आगामी संस्करणको एनपीएलका लागि दुईजना विदेशी खेलाडी भित्र्याएको छ । चितवनले इङ्ल्यान्डका अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको छ ।
उनले लगातार तेस्रोपटक चितवनबाट एनपीएल खेल्न लागेका हुन् । रविले हालसम्म १५ खेलमा कुल पाँच सय २३ रन बनाएका छन् । उनी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।
यसैगरी, चितवनले जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजालाई पनि अनुबन्ध गरेको छ । एनपीएलमा पहिलो सहभागिता भए पनि उनले नेपालमा भने यसअघि नै खेलिसकेका छन् । विश्वकै प्रभावशाली खेलाडी राजा सन् २०२१ मा आयोजित एभरेष्ट प्रिमियर लिगमा विराटनगरको टोलीमा थिए ।
४० वर्षीय राजासँग विश्वभरका थुप्रै फ्रेन्चाइज प्रतियोगिता खेलेको अनुभव छ । उनले जिम्बाब्वेका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले एक सय ४० टी–२० अन्तर्राष्ट्रियमा १३६।२४ को स्ट्राइक रेटले तीन हजार एक सय ५४ रन बनाएका छन् ।
राजाले एक शतक र १७ अर्धशतक पनि हिर्काएका छन् । उनको उच्च स्कोर अविजित एक सय ३३ रन हो । यो ढाँचाको क्रिकेटमा उनले एक सय ११ विकेट पनि लिएका छन् ।
चितवनले प्रशिक्षकमा पनि पाकिस्तानका तीव्रगतिका पूर्वबलर सोहेल तनवीरलाई नियुक्त गरेको छ । उनी अघिल्ला दुई संस्करणको एनपीएलमा खेलाडीको रूपमा चितवनसँग जोडिएका थिए ।
यसपटक चितवनले कुशल मल्ल, देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, रञ्जित कुमार, दिपक बोहरा र रिजन ढकाललाई ‘रिटेन’ गरेको छ । चितवनले अक्सनमा भने २६ लाख रूपैयाँ खर्च गर्यो ।
अक्सनबाट अशोक धामीलाई दुई लाख, विवेककुमार यादवलाई १५ लाख, विपिन रावललाई दुई लाख, गौतम केसीलाई दुई लाख, मौसम ढकाललाई तीन लाख र सलाहउद्दिन खानलाई दुई लाख रूपैयाँमा खरिद गरेको छ ।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपीएलका लागि विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोखराले श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा बनाएको हो ।
पोखराले मेन्डिसको अन्तर्राष्ट्रिय अनुभव, प्राविधिक ज्ञान र नेतृत्व क्षमताले टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ । पोखराका महाप्रबन्धक अमित लोहनीले भनेका छन्, ‘मेन्डिस जोडिएपछि टोलीको प्रदर्शन सुधार हुनुका साथै युवा खेलाडीको विकासमा टेवा पुग्नेछ ।’
पोखराले हालसम्म विदेशी खेलाडीको रूपमा श्रीलंकाकै अलराउण्डर धनञ्जय लक्षणलाई मात्र अनुबन्ध गरेको छ । उनले दोस्रोपटक पोखराबाट खेल्न लागेका हुन् । लक्षणले गत संस्करणमा तीन खेलमा १० विकेट लिनुका साथै ५३ रन बनाएका थिए ।
यसका अतिरिक्त, पोखराले बंगलादेशका प्रभावशाली अलराउन्डर सकिब अल हसनलाई पनि टोलीमा आबद्ध गर्ने जनाएको छ । ३९ वर्षीय सकिब विश्व क्रिकेटकै अनुभवी खेलाडी हुन् । उनले बंगलादेशका लागि तीनवटै ढाँचाको क्रिकेटमा अब्बल प्रदर्शन गरेका छन् ।
उनले बंगलादेशका लागि एक सय २९ टी–२० को एक सय २७ पालीमा १२१।१८ को स्ट्राइक रेटले कुल दुई हजार पाँच सय ५१ रन बनाएका छन् । उनले १३ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
यो ढाँचाको क्रिकेटमा उनले कुल एक सय ४९ विकेट पनि लिएका छन् । उनीसँग आईपीएलसँगै विश्वभरका थुप्रै फ्रेन्चाइज प्रतियोगिता खेलेको अनुभव पनि छ ।
पोखराले यसपटक कुशल भुर्तेल, अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र सागर ढकाललाई टोलीमा ‘रिटेन’ गरेको छ । पोखराले अक्सनमा २६ लाख ७५ हजार खर्च गर्यो ।
पोखराले अक्सनबाट अर्जुन घर्तीलाई १५ लाख, विवेककुमार रानामगरलाई दुई लाख ७५ हजार, विपिन आचार्यलाई दुई लाख, प्रतिक पोखरेललाई दुई लाख, सुदिप अर्याललाई तीन लाख र सन्नी बीकेलाई दुई लाख रूपैयाँमा खरिद गरेको छ ।
लुम्बिनी लायन्स
दोस्रो संस्करणको विजेता लुम्बिनीले तेस्रो संस्करणका लागि हालसम्म एकजना विदेशी खेलाडीमात्र अनुबन्ध गरेको छ । लुम्बिनीले श्रीलंकाका विकेटकिपर–ब्याट्सम्यान निरोशन डिकवेलालाई अनुबन्ध गरेको हो ।
उनले अघिल्लो संस्करण पनि लुम्बिनीबाटै खेलेका थिए । टोलीलाई उपाधि दिलाउन डिकवेलाको भूमिका महत्त्वपूर्ण थियो । उनी टोलीमा जोडिएपछि लुम्बिनी लगातार ६ खेलमा विजयी भएको थियो ।
हालसम्म डिकवेलाले लुम्बिनीका लागि ६ खेलमा एक सय ३७ रन बनाएका छन् । लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले डिकवेलाबाट यसपटक पनि उत्कृष्ट प्रदर्शनको विश्वास व्यक्त गरेका छन् । लुम्बिनीले बाँकी विदेशी खेलाडी पनि छिट्टै अनुबन्ध गर्ने जनाएको छ ।
लुम्बिनीले रोहित पौडेल, शेर मल्ल, दिलिप नाथ, सन्दीप जोरा, दिनेश अधिकारी, अभिषेश गौतम र तिलक भण्डारीलाई टोलीमा ‘रिटेन’ गरेको छ । लुम्बिनीले अक्सनमा भने ४४ लाख रूपैयाँ खर्च गर्यो ।
लुम्बिनीले अक्सनबाट आकाश त्रिपाठीलाई पाँच लाख, आसिफ शेखलाई २० लाख, अजय चौहानलाई दुई लाख, अरनिको यादवलाई दुई लाख, दुर्गेश गुप्तालाई पाँच लाख र किशोर महतोलाई १० लाख रूपैयाँमा खरिद गरेको छ ।
काठमान्डु गोर्खाज
तेस्रो संस्करणका लागि काठमान्डुले हालसम्म तीनजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । काठमान्डुले रासिद खानलाई रिटेन गरेको छ । भारतीय खेलाडी कोना श्रीकर भरतले पनि तेस्रो सिजन काठमान्डुबाटै खेल्नेछन् । उनले भारतबाट टेस्ट क्रिकेट पनि खेलेका छन् ।
३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले ९१ टी–२० खेलमा ११ अर्धशतकसहित एक हजार आठ सय १२ रन बनाएका छन् ।
काठमाडान्डुले श्रीलंकाली अलराउन्डर सहान अराचिगेलाई पनि अनुबन्ध गरेको छ । ३० वर्षीय सहान बायाँहाते ब्याट्सम्यान र दायाँहाते स्पिनर हुन् ।
यसपटक काठमान्डुले करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम, रासिद खान ९अफगानिस्तान०, साहब आलम र सन्तोष यादवलाई टोलीमा ‘रिटेन’ गरेको छ ।
काठमान्डुले अक्सनबाट दयानन्द मण्डललाई दुई लाख, देव साहलाई दुई लाख, कृष्ण पौडेललाई दुई लाख, प्रसिद्ध जैसीलाई दुई लाख, साहिल पटेललाई पाँच लाख, सोनु देवकोटालाई दुई लाख र सूर्यान्शु कोइरालालाई दुई लाख रूपैयाँमा खरिद गरेको हो । काठमान्डुले अक्सनमा १७ लाख रूपैयाँ खर्च गर्यो ।
विराटनगर किङ्स
तेस्रो संस्करणका लागि विराटनगरले हालसम्म कुनै पनि विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छैन । विराटनगरले छिट्टै विदेशी खेलाडी भित्र्याउने जनाएको छ ।
यसपटक विराटनगरले सन्दिप लामिछाने, लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जीसी र सुभाष भण्डारीलाई टोलीमा ‘रिटेन’ गरेको छ । विराटनगरले अक्सनमा ३७ लाख २५ हजार रूपैयाँ खर्च गरेको छ ।
विराटनगरले अक्सनबाट अपराजित पौडेललाई दुई लाख, दिल्साद अलीलाई पाँच लाख, इमरान शेखलाई दुई लाख, नरेन साउदलाई पाँच लाख, प्रज्ज्वल थापालाई दुई लाख, प्रतिक श्रेष्ठलाई दुई लाख, रूपेश सिंहलाई १५ लाख र सुजन थपलियालाई चार लाख २५ हजार रूपैयाँमा खरिद गरेको छ ।
कर्णाली याक्स
कर्णालीले पनि तेस्रो संस्करणका लागि हालसम्म विदेशी खेलाडीलाई अनुबन्ध गरेको छैन । कर्णालीले छिट्टै विदेशी खेलाडी भित्र्याउने जनाएको छ ।
कर्णालीले यसपटक सोमपाल कामी, गुलसन झा, नन्दन यादव, दिपक डुम्रे, पवन सर्राफ, युनिसविक्रम सिंह ठकुरी र युवराज खत्रीलाई टोलीमा ‘रिटेन’ गरेको छ । कर्णालीले यसपटक अक्सनमा २६ लाख रूपैयाँ खर्च गर्यो ।
कर्णालीले अक्सनबाट विपिनप्रसाद शर्मालाई पाँच लाख, दिपेन्द्र रावतलाई पाँच लाख, दिवान पुनलाई दुई लाख, सचिन शर्मालाई दुई लाख, शुभ कंसाकारलाई १० लाख र सूर्य तामाङलाई दुई लाख रूपैयाँमा खरिद गरेको छ ।