नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधा जित भइसकेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। उनले सभापति गगन थापा समूहबाट सर्वोच्च अदालतमा आफूहरूलाई आधिकारिकता नदिनको लागि दबाब गइरहेको दाबी गरे।
उनले भने, “निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ। मैले भनेको होइन। सबैले सुनेको कुरा हो। हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ। चुनाव भइसक्यो के गर्ने ? भन्यो। हामीले पुनरावलोकनमा गयौँ। पुनरावलोकनले निस्सा दियो हामीलाई। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो।”
जतिसुकै षड्यन्त्र भएपनि आफूहरूले आधिकारिकता पाउने विश्वास व्यक्त गरे।
उनले भने, “अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर के गरेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ। तर हामी कुनै हालतमा मान्दैनौँ। रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ।”
उनले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिर गरे।
उनले अगाडि भने, “गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्यो भन्नुभयो। मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीको। त्यसका लागि को–को भाग लिने हो, सनाखत हुनुपर्यो। बिना सनाखत गर्न पाइन्छरु भनेका थिए। पहिला सभापति सुवर्ण शमशेर हुँदा बोलाइएको हो। अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन। बोलाइदिने ?”
गगनले अचानक विशेष महाधिवेशन बोलाएकाले स्वीकार्य नहुने बताए। उनले थपे, मैलै भन्दा गगनले हुन्छ दाइ विचार गर्छु दाइ भनेका थिए। अचानक बोलाइदिए। खल्तीबाट बोलाएर हुन्छ ?”