नेपालले एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानको सामना गर्ने भएको छ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणमा हङकङसँग १५ रनले पराजित भए पनि रनरेटका आधारमा समूह विजेता बनेपछि नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।समूह ‘ए’ मा नेपाल र हङकङले चार खेलबाट समान ६ अंक जोडेकामा उत्कृष्ट रनरेटका आधारमा नेपाल समूह विजेता बनेको हो। समूह ‘बी’ को उपविजेता ओमानसँग नेपालले बिहीबार सेमिफाइनल खेल्नेछ।
अर्को सेमिफाइनलमा हङकङले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ। लिग चरणको अन्तिम खेलमा यूएईले ओमानलाई ४९ रनले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको हो। दुवै सेमिफाइनल खेल बिहीबार आयोजना हुनेछन्। मंगलबार क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २ सय ४६ रनमा अलआउट भयो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले १०६ बलमा दुई छक्का र ६ चौकाको मद्दतमा उक्त स्कोर बनाएका थिए।
ओपनर आसिफ शेखले ४४ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१, गुलसन झाले २० र अर्जुन कुमालले १४ रनको योगदान दिए। हङकङका एजाज खानले चार विकेट लिए। यासिम मुर्तजाले दुई तथा अतिक इक्वाल, नर्सुल्ला राना र किञ्चित साहले समान एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ६१ रनको योगफल तयार गरेको थियो। हङकङका बाबर आजमले उत्कृष्ट शतकीय इनिङ खेल्दै १२६ बलमा ११७ रन बनाए।साहिद वासिफले ४५, एहसान खानले ३५, जिसन अलीले १५ र अन्शु रथले १३ रन जोडे। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चिएर चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे।समूह चरणमा पराजय बेहोरे पनि रनरेटका आधारमा समूह विजेता बनेको नेपाल अब फाइनल प्रवेशका लागि ओमानविरुद्ध मैदान उत्रनेछ।