नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगंज च्याप्टरले युवा उद्यमीहरूको ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एनवाईईएफ एकेडेमी’ शुभारम्भ गरेको छ ।
एकेडेमीको पहिलो कक्षा बुधबार वीरगंजमा सम्पन्न भएको हो। पहिलो सत्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वीरगञ्जका प्रमुख अधिकृत सुनील चौरसिया स्रोत व्यक्तिका रूपमा सहभागी भएका थिए । चौरसियाले सहभागी युवा उद्यमीहरूलाई वाणिज्य तथा व्यवसाय सञ्चालनका व्यवहारिक पक्षसँगै उपभोक्ता संरक्षणसम्बन्धी विषयमा महत्वपूर्ण जानकारी र व्यावहारिक ज्ञान प्रदान गरेका थिए ।
कार्यक्रमको संयोजन सीए नरेश पटेलले गरेका थिए भने एनवाईईएफ वीरगंज च्याप्टरका अध्यक्ष चन्दन सिंहले समन्वय गरेका थिए । कार्यक्रममा एनजीसी काठमाडौंका पवित्र गौतम, एनवाईईएफ वीरगञ्ज च्याप्टरका द्वितीय उपाध्यक्ष सुरज रुङ्गटा, स्टार्टअप चेयर अतुल राउतलगायत एनवाईईएफका सदस्य तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अतिथि, एनवाईईएफका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता र सहयोगले पहिलो सत्र सफल बनाउन महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ । एनवाईईएफ वीरगंज च्याप्टरले ‘एनवाईईएफ एकेडेमी’लाई युवा उद्यमीहरूका लागि निरन्तर सिकाइ, व्यावसायिक विकास, ज्ञान आदान–प्रदान तथा नेतृत्व क्षमता अभिवृद्धिको साझा मञ्चका रूपमा अघि बढाउने जनाएको छ ।
एकेडेमीमार्फत व्यवसायका विभिन्न पक्षबारे जानकारी प्रदान गर्नुका साथै युवा उद्यमीलाई भविष्यमा आइपर्ने चुनौती सामना गर्न सक्षम र व्यावसायिक रूपमा तयार बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । च्याप्टरले पहिलो सत्रमा आफ्नो विशेषज्ञता साझा गरेकोमा स्रोत व्यक्ति सुनील चौरसियाप्रति आभार व्यक्त गरेको छ । साथै कार्यक्रममा सहभागी अतिथि, एनवाईईएफका नेतृत्वकर्ता, सदस्य तथा युवा उद्यमीहरूलाई धन्यवाद दिएको छ ।
भिडियाे रिपाेर्ट