तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म दुवै नाबालकलाई बाल सुधार गृहमा राख्न आदेश दिएको हो। अदालतका स्रेस्तेदार राजकुमार दाहालका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा रहेको व्यवस्थाअनुसार आदेश गरिएको हो।अदालतले पीडित पक्षलाई तत्काल पीडित राहत कोषबाट दुई लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ।
मुद्दाको सुनुवाइका क्रममा सरकारी वकिल र जाहेरवालाका तर्फबाट कानुन व्यवसायीहरूले घटना गम्भीर प्रकृतिको भएकाले आरोपितलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गरेका थिए। अदालतले प्रहरी प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षणसम्बन्धी विवरण अध्ययन गरेपछि नाबालकका हकमा लागू हुने कानुनी व्यवस्थालाई आधार बनाएर बाल सुधार गृह पठाउने निर्णय गरेको हो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये दुई नाबालकलाई अदालतमा पेस गरिएको हो। उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।हिरासतमा रहेका प्रोग्रेस चौधरीसहित अन्य १० जनामाथिको अनुसन्धान पनि जारी रहेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभएको छ। अनुसन्धान पूरा भएपछि उनीहरूलाई समेत अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
गरिमा साउन ३१ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित प्रोग्रेस चौधरीको घरमा खेल्न गएका बेला बेपत्ता भएकी थिइन्। त्यसको दुई दिनपछि भदौ २ गते साँझ भक्तिनगरस्थित एक घरमा उनी मृत अवस्थामा फेला परेकी थिइन् । बालिका मृत अवस्थामा फेला परेपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै पीडित परिवार र स्थानीयवासीले राजमार्ग अवरुद्ध गर्नुका साथै प्रदर्शनसमेत गरेका थिए।
घटनासँग सम्बन्धित अस्पतालमा खिचिएको भिडियो सार्वजनिक भएपछि एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अन्य कर्मचारीमाथि पनि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।गृह मन्त्रालयमा भएको सहमतिपछि भदौ ७ गते पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको थियो।