महोत्तरीमा तीन÷चार दशकयता घट्दै गएको कोदोखेती पछिल्ला वर्षमा भने बढ्दै गएको छ । कोदोको गुणकारी विशेषताबारे चर्चा बढेपछि किसानले यसको खेती विस्तार गर्न थालेका हुन् ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार आव २०७८/७९ मा ३०० हेक्टरमा गरिएको कोदोखेती आव २०८१/८२ मा ३७५ हेक्टर पुगेको थियो । आव २०८२/८३ मा ३८२ हेक्टरमा खेती गरिएकोमा चालु आवमा ५०० हेक्टरको सेरोफेरोमा पुग्ने अनुमान छ ।
कोदोको उत्पादन पनि बढ्दै गएको छ । आव २०७८/७९ मा ३३० मेट्रिकटन उत्पादन भएकोमा आव २०८१/८२ मा ४१२ र गत आवमा ४२० मेट्रिकटन उत्पादन भएको थियो । चालु आवमा ६५० मेट्रिकटन उत्पादन हुने अनुमान छ ।
भङ्गाहा–४ का किसान गङ्गाराम महतोका अनुसार पछिल्ला वर्षमा कोदोको माग र मूल्य बढेपछि किसानले खेती विस्तार गरेका हुन् । मधेसमा कोदो मुख्यतः रोटीका रूपमा खाने गरिन्छ भने पछिल्लो समय ढिँडो, बिस्कुट र हलुवा बनाउनसमेत प्रयोग हुन थालेको छ ।
बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रितेश घिमिरेका अनुसार कोदोमा फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, फसफोरस, फलाम र पोटासियमजस्ता पोषक तत्त्व पाइने भएकाले यसको माग बढेको हो । विशेषगरी मधुमेह भएका व्यक्तिले कोदो रुचाउन थालेपछि यसको महत्त्व र खेतीसमेत बढ्दै गएको छ । रासस