सिराहा । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराई सबै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने आफू एक्लो नेता भएको दाबी गरेका छन् ।
सिराहामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो निर्वाचनमा समेत विजयी हुने आफू मात्रै पूर्वप्रधानमन्त्री भएको जिकिर गरे ।
आफ्नो राजनीतिक यात्रा र चुनावी सफलतालाई ऐतिहासिक रेकर्डका रूपमा प्रस्तुत गर्दै उनले राजधानी, रोल्पा, सिराहा, चितवन, गोरखा हुँदै पछिल्लो समय रुकुम पूर्वबाट निर्वाचित भएको बताए ।
‘मैले एउटा रेकर्ड बनाएको छु। म पहिला राजधानीबाट, रोल्पाबाट, सिराहाबाट, चितवनबाट र गोरखाबाट निर्वाचित भएँ । अहिले रुकुम पूर्वबाट निर्वाचित भएको छु,’ प्रचण्डले भने। उनले तराई, मधेस, पहाड र हिमाल सबै भूगोलबाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर आफूलाई मात्र प्राप्त भएको दाबी गरे ।
देशमा अहिले ६–७ जना पूर्वप्रधानमन्त्री रहेको उल्लेख गर्दै प्रचण्डले निर्वाचन जित्ने सवालमा आफू भाग्यमानी रहेको बताए । पछिल्लो निर्वाचनमा निर्वाचित हुने र विजयी हुने पूर्वप्रधानमन्त्री आफू मात्रै भएको उनको भनाइ थियो।
सिराहामा अत्यधिक गर्मीका बाबजुद प्रशिक्षण कार्यक्रममा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएपछि प्रचण्डले उत्साह व्यक्त गरे । गर्मी तथा पार्टीप्रतिको उत्साह घटेको भनाइका कारण उपस्थिति कम हुने अनुमान गरे पनि कार्यक्रमस्थलमा ठूलो संख्यामा कार्यकर्ता उपस्थित भएको उनले बताए ।
प्रचण्डले आफ्नो राजनीतिक यात्रामा सिराहाको महत्वपूर्ण भूमिका रहेको समेत स्मरण गरे। पञ्चायतविरोधी आन्दोलन, जनयुद्धको तयारी र शान्ति प्रक्रियादेखि नै आफू सिराहासँग नजिक रहेको बताउँदै उनले दोस्रो संविधानसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित गराएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर दिएकोमा सिराहावासीप्रति आफू सधैँ ऋणी रहने बताए ।
सम्बोधनका क्रममा उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत धारणा राखे। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नयाँ संघर्ष सुरु भएको उनको भनाइ थियो ।
भदौ २४ गतेको घटनालाई पार्टीको केन्द्रीय संयोजन समितिले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासको ‘कालो दिन’ घोषणा गरेको जानकारी दिँदै प्रचण्डले उक्त दिन संविधान र राष्ट्रिय स्वाधीनताविरुद्ध ठूलो प्रतिक्रान्तिकारी षड्यन्त्र भएको दाबी गरे ।
उनका अनुसार केही घण्टामै सिंहदरबारलगायत ऐतिहासिक धरोहर, दस्ताबेज, पार्टी कार्यालय र प्रहरी कार्यालयमा विध्वंस मच्चाइएको थियो ।
भदौ २३ गतेको प्रदर्शनबारे प्रचण्डले सुरुमा आन्दोलन सकारात्मक रहेको बताए । उनका अनुसार दिउँसोसम्म युवाहरूको आन्दोलन भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा र सञ्चारमाथिको प्रतिबन्धविरुद्ध केन्द्रित थियो । तर, दिउँसो २ बजेपछि आन्दोलन हिंसात्मक बनेको र घुसपैठ भएपछि मानिसको ज्यान जाने परिस्थिति सिर्जना भएको उनले दाबी गरे ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको स्वीकृति लिएर सुरु भएको ‘जेन्जी’ युवाहरूको आन्दोलनमा पछि घुसपैठ भएको समेत प्रचण्डले दाबी गरे ।