पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ।
जिराभवानी गाउँपालिका–२ काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारु मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक सम्मुनत अधिकारीका अनुसार उनको मृत्यु बाघको आक्रमणबाट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरीका अनुसार थारु बुधबार बिहान करिब १० बजे घरबाट घाँस काट्न भन्दै नजिकैको जंगलतर्फ गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवार र आफन्तले उनको खोजी सुरु गरेका थिए।
खोजी गर्ने क्रममा बिहीबार बिहान सब–डिभिजन वन कार्यालय, बसन्तपुरबाट करिब ५०० मिटरभित्र जंगल क्षेत्रमा थारुको शव फेला परेको हो। घटनास्थलको प्रारम्भिक अवस्थाका आधारमा बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ। मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनाको थप विवरण तथा बाघको गतिविधिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।